काठमाडौं । भारतीय कम्पनी प्योर इभीले बनाएको स्कुटर इ प्लुटो ७ जीमा आगलागी भएको छ । भारतीय सडकमा गुडी रहेको समयमा नै इ प्लुटो ७ जीमा आगलागी भएको हो ।
केही दिनअघि मात्र ओला एस १ स्कुटरमा आगो लागेको विषय बाहिर आएको थियो । त्यो घटना सेलाउन नपाउँदै प्योर इभीको स्कुटरमा आगलागीको घटना बाहिर आएको हो ।
प्योर इभीले आफ्ना उत्पादन नेपालमा पनि विक्री वितरण गर्दै आएको कारण यो घटना यहाँ पनि सान्दर्भिक हुने देखिन्छ । चालकका अनुसार चल्दै गरेको स्कुटरको सिट तलबाट धुवा निस्कन थालेको केही समयपछि नै आगलागी भएको हो । इ प्लुटो ७ जीमा अन्डर सिट ब्याट्री स्टोरेज दिइएको छ ।
भारतमा पछिल्लो ६ महिनामा तीनवटा इलेक्ट्रीक स्कुटरमा आगलागी भएको घटना बाहिर आएका छन् । प्योर इभी र ओलाले समान एउटै कम्पनीको ब्याट्री प्रयोग गरेको देखिन्छ । यी दुबैले एनएमसी लिथियम आयोन ब्याट्री प्रयोग गरेका छन् । ब्याट्री ओभर हीट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
नेपालमा ह्वाइट लोटस मोटर्स नेपालले विक्री गर्दै आएको ई-प्लुटो ७ जीमा ६० भोेल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक रहेको छ । ई-प्लुटो ७ जीको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ । साथै, नेपाली बजारमा यो स्कुटर १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सनमा विक्री भइरहेको छ । यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १०० किमिटर चलाउन सकिन्छ ।
यसमा ‘रिजेनेरेटीभ ब्रेकिङ सिस्टम’ समेत रहेको छ । यो स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । यसमा ४ इन्चको एलइडी डिस्प्ले दिइएको छ । यस्तै यसका सबै लाइटहरु एलइडी रहेको छ । यस्तै यसमा एन्टी थेप्ट लकिङ सिस्टम समेत रहेको छ ।

