बन्यो फुल चार्जमा ४८० किलोमिटर रेन्ज दिने स्कुटर, नेपाल पनि आउन सक्ने

काठमाडौं । भारतको मुम्वाईमा रहेको इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी राफ्ट मोटर्सले सबैभन्दा धेरै रेन्ज (माइलेज) दिने इलेक्ट्रीक स्कुटर निर्माण गरेको दावी गरेको छ ।

कम्पनीले हालै मात्र सार्वजनिक गरेको नयाँ इलेक्ट्रीक स्कुटर ‘इन्डस एनएक्स’ स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार यो इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा ४८० किलोमिटर यात्रा गर्न सकिने छ ।

धेरै लामो रेन्जसँगै उक्त स्कुटर फिचरले भरीपुर्ण रहेको कम्पनीको दावी छ । यसमा १ लाख किलोमिटरको वारेन्टी ग्राहकले पाउने छन् । साथै, स्कुटरमा डबल ब्याट्री अप्सनसमेत दिइएको छ ।

कम्पनीले राफ्ट स्कुटरको तीन भेरियन्ट बजारमा ल्याएको छ । जसमा इन्ट्री लेवल, मिड रेन्ज र टप भेरियन्ट रहेको छ । इन्ट्री लेवल स्कुटरमा ४८ भोल्ट ६५ एम्पीयर पावरको लिथिएम आयोन ब्याट्री प्याक दिइएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा १५६ किलोमिटर यात्रा गर्न सक्छ । यो स्कुटरको एक्स शोरुम मूल्य १ लाख १८ हजार ५०० भारतीय रुपैयाँ रहेको छ ।

त्यसैगरी यसको मिड रेन्जमा ४८ भोल्ट १३५ एम्पीयरको ब्याट्री प्याक उपलब्ध रहेको छ । यसमा रहेको ब्याट्री निकालेर चार्ज गर्न भने सकिन्न । यो ब्याट्री एक पटकको फुल चार्जमा ३२४ किलोमिटर यात्रा गर्न सकिन्छ । यसको एक्स शोरुम प्राइस १ लाख ९१ हजार ९७६ भारतीय रुपैयाँ रहेको छ ।

यसका साथै यसको टप भेरियन्टमा डबल ब्याट्री अप्सन दिएको छ । जसको कुल क्षमता ९.६ किलोवाट आवरको रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ४८० किलोमिटर चलाउन सकिन्छ । यसको एक्स शोरुम मूल्य २ लाख ५७ हजार ४३१ भारतीय रुपैयाँ रहेको छ ।
यी स्कुटरहरुमा रिभर्स गियर, एन्टी थेफ्ट अर्लाम, की–लेस स्टार्ट, रिमोट लकिङ, डिस्क ब्रेक, चाइल्ड सेफ्टी लक जस्ता एड्भान्स फिचर उपलब्ध रहेको छ ।

राफ्ट मोटर्सका स्कुटरहरु हाल भारतको ५५० भन्दा धेरै सहरहरुमा विक्री भइरहेको छ । कम्पनीका अनुसार २०२३ मार्चदेखि विश्वभर यसको नेटवर्क विस्तार गर्ने योजना रहेको छ ।

भारतीय उत्पादकले उत्पादन गरेको कारण यसलाई नेपाली आयातकर्ता कम्पनीले नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । औषतमा १०० किलोमिटर रेन्ज दिने स्कुटर उपलब्ध बजारमा ४८० किलोमिटर रेन्ज दिने स्कुटर आउने हो भने यसले धेरै इलेक्ट्रीक सवारी साधन चाहनेहरुलाई खुसी बनाउने छ ।


Back_to_top