रिकन्डिसन हाउसमा ३० देखि ४० हजारका मोटरसाइकलमा आकर्षण

काठमाडौं । लकडाउनपछि कम्यूटर सेग्मेन्टका मोटरसाइकल रिकन्डिसन हाउसमा लगभग आउनै छाडेको व्यवसायीहरुले बताउन थालेका छन् ।

उनिहरुको अनुसार अहिले रिकन्डिसनमा १५० सीसी क्षमतासम्मका मोटरसाइकल लगभग आउनै छाडेका छन् । ग्राहकले ३०÷४० हजार रुपैयाँदेखि मोटरसाइकल खोज्ने गरेका छन् । यस्ता मोटरसाइकल तत्काल बिक्री गर्ने बिक्रेता नै छैन ।

आफ्नै दैनिकी चलाउन मानिसले भएकै मोटरसाइकललाई चलाईरहेका छन् । वातावरण सहज भएपछि मात्रै यस्ता कम्यूटर सेग्मेन्टका मोटरसाइकल बजारमा आउने अनुमान व्यवसायीहरुले लगाएका छन् ।

‘कम्यूटर सेग्मेन्टका मोटरसाइकल खरिद गर्ने ग्राहकको चाप छ । तर, बिक्रेताहरुले मोटरसाइकल बिक्री गर्न ल्याएका नै छैनन् । २०० सीसी क्षमता माथिका मोटरसाइकल रिकन्डिसन हाउसहरुसँग भएको भएपनि ग्राहकको रोजाइमा साना मोटरसाइकल रहेको छ’, राम्रो मोटरसाइकल रिकन्डिन हाउसका संचालक कृष्ण बस्नेतले भने ।

अहिले उपत्यकामा रहेको विभिन्न रिकन्डिसन हाउसमा चैत महिनामा नै बिक्रीको लागि आएका मोटरसाइकलहरु मात्रै रहेको व्यवसायीहरुको भनाई छ ।

रिकन्डिसन हाउस संचालकहरुले लकडाउनपछि रिकन्डिसनको बजार ह्वातै बढ्ने अनुमान गरेपनि सोचे अनुसारको बिक्री नभएको उनिहरुको भनाई रहेको छ । ‘हामीले लकडाउनपछि बजारमा माग बढ्ने अनुमान गरेका थियौं । ग्राहकहरु आउनु भएको छ । तर, उहाँहरुको रोजाइमा साना मोटरसाइकल मात्रै रहेको छ’, ढकाल इन्टर प्राइजेजका प्रमेश ढकालले भने ।

यसले लकडाउनपछि कम खर्चमा आवश्यकता टार्ने किसिमले रिकन्डिनमा मोटरसाइकल किन्न जानेहरुको संख्या धेरै रहेको अनुमान लगाउन सकिन्छ ।

बिक्रेताको अफरले नयाँमा आकर्षण

रिकन्डिसनमा मोटरसाइकल किन्ने सोच बनाएका मानिसको आकर्षण नयाँमा धेरै गएको छ । बिभिन्न कम्पनीले ल्याएको अफरमा मोटरसाइकल किन्दा ग्राहकले धेरै भन्दा धेरै फाइदा लिन सक्ने र केही वर्षसम्म मेन्टिनेन्सको झन्झटपनि नरहने भएकाले ग्राहकहरु नयाँ मोटरसाइकल तथा स्कुटरमा झुम्मिएका हुन् ।

अहिले कम्पनीहरुले सून्य प्रतिशत डाउन पेमेन्ट, सून्य प्रतिशत व्याजदर, ३ वर्षसम्मको किस्ता सुविधा, नगद छुट जस्ता अफर गरेकाले रिकन्डिसनमा मोटरसाइकल किन्ने योजना बनाएका ग्राहकहरुपनि नयाँ मोटरसाइकलमा आकर्षित भएको हुनसक्ने व्यवसायीहरुको बुझाई छ ।


Back_to_top