काठमाडौं । सीजी मोटर्सले नेपालमा फोर ह्वील ड्राइभ इलेक्ट्रीक पीकअपको बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु गरेको पीकअप जस्तोसुकै कठिन बाटाहरुमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्ने किसिमको छ ।
कम्पनीले ललितपुरको हात्तिवन रिसोर्टमा लगेर यसको टेस्ट ड्राइभ कार्यक्रमसहित मूल्य घोषणा गरेको छ । सीजी मोटर्सले जिली ग्रुपले उत्पादन गरेको रेडारा फोर ह्वील ड्राइभ मोडललाई ३ भेरियन्ट ल्याएको हो । जसमा बेस अप्सन, विथ सनरुफ र सनरुफ विथ ड्युलटोन कलर भेरियन्ट छन् ।

यसको मूल्य बेस अप्सनको ७९ लाख ९९ हजार रुपैयाँ, विथ सनरुफको ८१ लाख ९९ हजार र ड्युलटोन कलर विथ सनरुफको ८२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कार्गो स्पेशमा ७५० किलोसम्म सामान राखेर हिड्न मिल्ने पीकअपमा अगाडि आरामसँग ५ जनाले यात्रा गर्न सक्नेछन् । ड्यूल कलर ड्यासबोर्डमा ठडिएको १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, पानारोमिक शनरुफ, ६ एयरब्याग, ८ स्पीकर, ब्राउन कलरको इन्टेरियर, वायरलेस फोन चार्जर जस्ता फिचरले यसलाई सुविधा सम्पन्न एसयूभीको फिल दिने पीकअप बनाएको छ ।
यसका अलावा सुरक्षा फिचरको रूपमा एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) २.० पाउन सकिन्छ । यसका सबै सिट भ्यान्टीलेड हुन् । साथै, सिटलाई बेड मोडमा पनि लान सकिन्छ ।

एक पटकमा एक हजार किलोग्राम सामान बोकेर हिँड्न सक्ने पीकअपमा अगाडि ११५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर दिइएको छ । यसको फोर ह्वील ड्राइभमा संयुक्त पावर ३१५ किलोवाट हो । अल ह्वील मोडमा गाडीको पीकटर्क ५९५ न्यूटन मिटर रहेको छ ।

जिली ग्रुप अन्तर्गतको रेडारा ब्राण्डमा आएको आरडी-६ पीकअपमा ७३ किलोवाट आवरको आइपी ६८ रेटेड एलएफपी ब्याट्री दिइएको छ । एनइडीसीले यसको रेन्ज ४२४ किलोमिटर भनेको छ । डब्लूएलटीपीले ३५६ किलोमिटरसम्म रेन्ज आउने देखाएको छ । तर, अफरोड बाटोमा चलाएर धेरै यात्रा गर्ने हो भने ३१० देखि ३२० किलोमिटरसम्म रेन्ज पाइने हाम्रो टेस्ट ड्राइभले देखाएको छ ।





