काठमाडौं । तीन दिन परेको अविरल वर्षाको कारण नेपाल आइरहेका विद्युतीय कारहरु बीच बाटोमै फसेका छन् । विशेषगरी चीनतर्फबाट आउने तातोपानी र रसुवागढी नाकाबाट आउने सडक बिग्रदा गाडी ल्याउन कठिन भएको हो ।
रसुवागढी नाकाबाट केही मर्मतको काम सकिएपछि गाडी ल्याउन सकिने अवस्था रहेपनि तातोपानी नाकाबाट आउने बाटोमा पुल नै बगाएको कारण तत्काल गाडी ल्याउन कठिन अवस्था छ । दशैं–तिहार लक्षीत गाडीहरु धमाधम आइरहेको समयमा बाटो बन्द हुँदा ब्यवसायीहरु चिन्तित बनेका छन् ।
‘तातोपानी भन्सारमा ठूलो संख्यामा गाडी आइपुग्दैछ । तर, त्यहि समयमा बाटोमा समस्या आयो । यहाँ ग्राहकहरु दशैंमा गाडी कुरेर बसेका छन्, उता बाटो बन्दछ । कसरी गाडी ल्याउने भन्ने समस्या छ’, एक गाडी बिक्रेताले भने ।
चीनबाट आयात हुने विद्युतीय कार तातोपानी र रसुवागढी नाका हुँदै आउने गरेका छन् । दुबैतर्फ ठूला नदी किनारको प्रयोग र चट्टानी पहाडको बाटो भएको कारण बाढी र पहिरोले आवतजावतमै समस्या हुँदै आएको छ ।
नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ भएका कारहरु दशैं आसपासमा डेलिभरी दिन आयातकर्ताहरु जुटेको समयमा आएको विपत्तीले ब्यवसायीहरुलाई समस्यामा पारेको हो । यसको असर उपभोक्तालाई पनि पर्नेनै भयो ।
चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा गाडी बाहेक पनि ठूलो परिमाणमा खाद्ययन्न र लताकपडाहरु चीनबाट आयत हुन्छन् । यी सबै सामान रोकिँदा उपभोक्तालाई सामान नपाउने डर र ब्यापारीलाई बिक्री धेरै हुने समयमा सामान नपाउने डरको अवस्था सृजना भएको छ ।