सडक खन्यो, एम्बुस थाप्यो !

काठमाडौं । सरकारले सडक खन्यो, गाडी खुड्न मिल्ने बनायो, अनि दायित्व सकियो भने जसरी काम गर्दै आएको छ । सरकारको नियतकै कारण हाम्रा सडकहरू ‘एम्बुस’ जस्तो बनेका छन् ।

हरेक दिन सडक दुर्घटनाका समाचार आउँछन् । दुर्घटनाको कारण चालक भन्ने भाष्य नै निर्माण गरिएको छ । ती दुर्घटनामा दैनिक ७ देखि १० जनाले ज्यान गुमाउँछन् । बीमाले मृतकका परिवारलाई केही रकम तिर्छ सकियो । यसले नेपालमा निर्माण भएका सडकहरू एम्बुस हुन् भन्ने प्रमाणित नै भएको छ ।

सानो एउटा प्रसंगको चर्चा गरौं । बीपी हाइवेमा साना गाडीमात्र चलाउन मिल्छ भनेर जाइकाले निर्माणपछि नेपाल सरकारलाई हस्तान्तरण गर्दा भन्यो । केही वर्ष साना गाडी मात्रै चलाइयो । तर, रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला यहाँ ३२ सिट क्षमतासम्मका बस चल्न दिने निर्णय भयो । अहिले बीपी हाइवे सुरक्षाको हिसाबले अब्बल सडक हुँदा हुँदै पनि सरकारी नीतिको कारण एम्बुस बन्न पुग्यो ।

अर्को एउटा प्रसंगको चर्चा गरौं । केही साता अघि दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाले ज्यान गुमाए । त्यो घटनाको सम्पूर्ण दोष चालकलाई लगाइयो । तर, त्यो घटनामा भएको यथार्थ अहिलेसम्म बाहिर आएको छैन । त्यहाँ सडक, सवारीसाधन, चेकिङमा बस्ने प्रहरी कसको गल्ती थियो । एकीन विषय बाहिर आएको छैन ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा ११७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्याभन्दा कहालीलाग्दो अवस्था घाइतेहरूको छ । चैत लागेपछिको दुर्घटनाको संख्या झनै भयावह छ ।

चालु आर्थिक वर्षमा भएका दुर्घटनामा ५ हजार १६० जना घाइते भएका छन् । ती मध्ये १८५ जना गम्भीर घाइते भएका छन् भने अरूलाई सामान्य चोटपटक लागेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।

हरेक महिना ६ सयदेखि १५ सय हाराहारी दुर्घटना हुने गरेका छन् । यसले एउटा पक्षलाई मात्रै देखाएर अर्को पक्ष पन्छिन सक्ने अवस्था छैन ।

काठमाडौं जोड्ने सबै बाटाहरू एम्बुस बन्दै

सरकारी निर्णयले बीपी हाइवे एम्बुसमा परिणत भयो । उता कान्ति लोकपथ, दक्षिणकाली हेटौंडा, फर्पिङ-फाखेल-हेटौंडा, चन्द्रागिरि-कुलेखानी-हेटौंडा जस्ता कुनै पनि सडक निर्माण पूरा भएका छैनन् । सबै सडक गाडी चलाउन उपयुक्त नै छैनन् । सानो गल्तीले ज्यानै जाने खतरा ज्यूँका त्यूँ छ ।

नागढुङ्गादेखि मुग्लिन, मुग्लिनबाट पोखरा, नारायणगढ-बुटवल, पोखरा-बुटवल जस्ता दैनिक हजारौं सवारीसाधन गुड्ने बाटोको हालत निकै खराब छ । यसले हाम्रो यातायात क्षेत्रको लागत वृद्धि, सवारीसाधनमा क्षतिदेखि मानविय क्षतिसम्म निम्त्याएको छ ।

दशक बित्दा पनि पूरा हुँदैन काम

मध्ये पहाडी, हुलाकी, बीपी, पासाङल्हामु, कालीगण्डकी करिडोर, तमोर करिडोर, कान्ति लोकपथ जस्ता सडकहरू निर्माण सुरू भएको ७ दशकसम्म पनि पूरा हुन सकेको छैन । ठेकेदारको चरम लापारबाही र हेलचक्र्याइँ, सरकारी वेवास्ता, बजेट अभाव लगायत कारणले पटक पटक म्याद थप्दा पनि यी सडक निर्माण पूरा हुन सकेको छैन ।

सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाहीकै कारण निर्माणाधीन सडकमा यात्रुले घण्टौं जाममा बस्नु पर्ने र दुर्घटनाको शिकार बन्नु परिरहेको छ । बिडम्बना यसको न्यूनीकरणका लागि न सरकारले चासो देखाएको छ, न ठेकेदार नै जिम्मेवार बनेको छ । सरकार र ठेकेदारको एम्बुसमा अनाहकमा नागरिकले ज्यान गुमाइरहनुपर्ने बाध्यता छ ।


Back_to_top