काठमाडौं । चांगानको इलेक्ट्रीक ब्राण्ड दिपल नेपालमा बिक्री सुरु भएको छ । आज काठमाडौंमा एक भब्य कार्यक्रम आयोजना गरेर दिपल एस-७ क्रसओभर एसयूभीको बिक्री सुरु भएको हो ।
एमएडब्लू वृद्धि कर्पले नेपाल ल्याएको दिपल एस-७ हाइटेक फिचर उपलब्ध मोडल हो । आफ्नो साइज र हुवावेको टेक्नोलोजीलाई एस-७ मा भरपूर प्रयोग गरिएको छ । उक्त एसयूभीलाई झण्डै ३ महिना काठमाडौंमा परिक्षणपछि बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।
‘ग्राहक सुरक्षामा हाम्रो खास चासो छ । त्यसैले गाडीको परिक्षण गरेर मात्रै बिक्री सुरु गरेका हौं । विगतदेखि नै हामी एमएडब्लू वृद्धि परिवार यस विषयमा सचेत छौं’, गाडी सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारीयाले भने ।
कम्पनीले ७१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर यसको बिक्री सुरू गरेको हो ।

दिपलले यसको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम दिएको छ । यसमा २९०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
कम्पनीले यसमा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २० इन्चको ह्वील, रियर ह्वील ड्राइभ सिस्टम यसमा दिएको छ । कम्पनीले यसलाई ९९ किलोवाटको मोटरमा नेपाल ल्याएको छ ।
कम्पनीले नेपाल ल्याएको मोडलमा ६६.८ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ४३० किलोमिटर र सीएलटीसी रेन्ज ५२० किलोमिटर रहेको छ ।


