काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
४५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको ७५२ मिटर लामो पुलको काम अन्तिम चरणमा पुगेको हो ।
निर्माण कम्पनीले सरकारसँग १७ असोज २०८३ भित्र पुल निर्माण काम सक्नेगरी २७ पुस २०७९ मा सम्झौता गरेको थियो । कम्पनीले २०८० देखि काम थालेको थियो ।
हाल पिलरको काम सकी स्पानको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर धीरेन्द्र सहनीले जानकारी दिए । उनका अनुसार पुलका १४ वटै पिलर बनिसकेका छन् भने अहिले १२औँ स्पानमा काम भइरहेको छ । अबको १५ दिनभित्र त्यो पनि सकेर १३औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको उनले बताए ।
स्पानसँगै कैलालीतर्फको भागमा तटबन्धको काम पनि सँगसँगै भइरहेको छ । उनले पुल निर्माण ठेक्का सम्झौता अवधिभन्दा चाँडै सकिने बताए । यसको म्याद २०८३ असोजसम्म रहेको छ ।
‘२०७९ पुस महिनामा सम्झौता भई सर्वेक्षणपछि २०८० देखि पुल निर्माण सुरु गरिएको थियो । आगामी असोजसम्म म्याद छ । तर, असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने लक्ष्य राखिएको छ । सम्झौता मितिभन्दा अगावै नै काम सक्छौँ,’उनले भने ।
सम्झौता अनुसार पुल निर्माणसँगै पुलको दुवैतर्फ ५०० मिटर पहुँच मार्ग र दुवैतर्फ १ हजार १५ मिटर नदी नियन्त्रणको काम पनि भइरहेको उनले बताए ।
१ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७५२ मिटर रहेको । यसको चौडाइ ११ मिटर छ । जसमा ७.५ मिटर गाडी गुड्ने र दुवैतर्फ गरी ३.५ मिटर फुटपाथ रहेको छ ।
कैलाली र बर्दिया जोड्न कर्णाली नदी माथि बनेको यो तेस्रो पुल हो । यसअघि कर्णालीको चिसापानी र हुलाकी राजमार्गको सत्ती घाटमा पुल निर्माण गरिएको थियो ।
अहिले कैलाली र बर्दिया आउजाउ गर्न डेढदेखि २ घण्टा समय लाग्दै आएको छ । पुल निर्माण सम्पन्न भएपछि यात्राअवधि १ घण्टामै छोटिने छ । हाल नदी वारपार गर्ने मानिसहरू आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेका छन् ।

