कार किन्नेभन्दा बेच्ने धेरै, ५ लाखमै पाइन्छ राम्रो कन्डिसनका गाडी

काठमाडौं । लामो लकडाउन अझै पूर्णरुपमा सकिएको छैन भने नागरिकमा भोलिको अर्थव्यवस्था कस्तो हुने भन्ने अन्योलता छाएको छ । यस्तोमा पुराना गाडी बिक्री गर्ने मानिसहरु निकै बढेका छन् ।

उसोत नयाँ वा सेकेन्ड ह्याण्डमा गाडी किन्ने मानिस पनि लामो लकडाउन पछि खुलेको बजारमा केही देखिन थालेका छन् ।

‘बैंकले सजिलै कर्जा नदिने र आम्दानीको स्रोतपनि घट्दै गएको अवस्थामा मानिसले ठूलो रकम तिरेर गाडी किन्न सक्ने अवस्था छैन’, जिएन अटोका संचालक राजकुमार देबकोटाले मेरोअटोसँग भने ।

उनका अनुसार गाडी किन्न आउने मानिसले पनि ५ लाखदेखि २० लाखसम्मको गाडी खोज्ने गरेका छन् । तर, उनको कम्पनीमा ८ लाखदेखि ८० लाखसम्मको गाडी रहेको छ ।

बजारमा सकारात्कम अवस्था आउन अझै केही समय लाग्ने बताउँदै उनि भन्छन् ‘अहिले उपत्यकामा बाहिरबाट आउने मानिसको चहलपहल छैन । चहलपहल बढेपछि केही सकारात्मक प्रभाव पर्छ होला ।’

उसोत मानिसले अहिले खर्च बढाउने भन्दापनि कम खर्चमा आधारभुत आवस्यकता पुरागर्ने बाटो अपनाएको बुझन गाह्रो छैन । यस्तो अवस्थामा गाडी बिक्री गर्ने र किन्ने दुबैमा कमी आउनु स्वभाविक हो ।

‘लकडाउन अघिको अवस्थामा फर्किन अझै धेरै समय लाग्छ । अहिले मानिसहरु घरबाट निस्कनै डराएका छन् । त्यसलेपनि पहिलेको तुलनामा मानिसहरुको चहलपहल छैन’, हाम्रो मोटर्सका कुमार चिमोरियाले भने ।

उनिपनि बजार अझै केही समय सिथिल हुने बताउँछन् । तर, आर्थिक गतिविधिले केही गति लिन थालेसँगै यो बजारले पनि पाइला चाल्ने उनको भनाई छ ।

नयाँ गाडी बिक्रेता कम्पनीहरुले संचालन गर्दै आएका केही रिकन्डिसन हाउसमा पनि खासै गाडी बिक्री गर्न आउने मानिसहरु नभएको कम्पनीहरुको भनाई छ ।

‘हामी टाटाका नयाँ गाडी किन्न आउने ग्राहका गाडी साटफेर गर्छौ । पहिलेको अवस्थामा जस्तै गाडी ल्याएर छाड्ने त छैनन् तर, उपयुक्त समयमा गाडी साटफेर गरिदिनु पर्छ भनेर भन्नेहरु धेरै छन्’, सिप्रदी एस्योर्डका नायव महाप्रबन्ध ध्रुव रेग्मीले भने ।

कता जाला बजार ?

नेपाल कारको एकदमै सानो बजार हो । वार्षिक बिक्री हुने १२ देखि १५ हजार नयाँ कारमा पुरानोसँग साटफेर गर्नेको संख्या २५ प्रतिशत भन्दा पनि कम रहेको व्यवसायी बताउँछन् ।

सामान्यतया नयाँ गाडीको बजार र रिकन्डिसको बजार बराबर हुनु पर्ने हो । तर, नेपालमा रिकन्डिसन बजार व्यक्तिबाट व्यक्तिमा नै नामसारी गर्ने चलन भएकाले तथ्यांकमा धेरै देखिएको छैन ।

कोभिड १९ को संक्रमणपछि सस्ता रिकन्डिसन गाडीको बजार राम्रो हुने देखिएपनि ठूला र महंगा गाडी एकाध बाहेक तत्काल बजारमा आउने अवस्था छैन ।


Back_to_top