फेरी सुरु भयो सेडान कारको यूग !

काठमाडौं । कुनै समय थियो व्यक्तिगत सवारीसाधन भन्नाले सेडान कार मात्रै सम्झने दिन थिए । समय फेरियो, बजारमा ह्याचव्याक र कम्प्याक्ट एसयूभीको माग बढ्यो ।

पछिल्ला दुई दशक निजी सवारीसाधनको बजारमा ह्याचव्याक र एसयूभी डिजाइनको ठूलो प्रभाव बन्यो । सन् २००५ सम्म पनि विश्व बजारमा सेडान कारको बलियो उपस्थिति थियो । त्यसपछि सेडानलाई एमपीभीले धकेलेको इतिहास पाइन्छ ।

नेपालमा सन् २०१० पछि सेडान कारको विक्रीमा उच्च गिरावट आएको देखिन्छ । हाम्रो सडकको अवस्थाको कारण उच्च ग्राउन्ड क्लियरेन्स भएका गाडीको माग बढ्यो त्यही कारण कम्प्याक्ट एसयूभीको माग उच्च बन्न गएको हो ।

लग्जरी र कम्फर्टको मामलामा भने सेडान कारलाई कुनै मोडलको गाडीले प्रतिस्पर्धा दिन सक्दैनन् । अझै पनि लग्जरी कार खोज्ने ग्राहकको पहिलो रोजाई सेडान कार पर्ने गरेको छ । सहरी क्षेत्रमा मात्रै यात्रा गरिरहेने ग्राहकले सेडान कार किन्ने गरेको देखिन्छ ।

निरन्तर बाहिरी सहर तथा हाइवेमा यात्रा गर्ने ग्राहकहरुले भने एसयूभी नै रुचाएको पाइन्छ । एसयूभी अग्लो हुने तथा लगेज लिएर हिड्न पनि समस्या नहुने भएकाले एसयूभी पहिलो रोजाईमा पर्ने गरेको हो ।

ब्यवसायीका अनुसार नेपालको कुल निजी सवारीसाधनको बजारमा सेडानको हिस्सा नगन्य मात्र बाँकी रहेको छ । साथै, पछिल्लो समयमा ह्याचव्याक कारको बजारलाई समेत कम्प्याक्ट एसयूभीले विस्थापन गर्दै लगेको छ ।

टेस्ला मोडल थ्री

विश्वमा न्यू इनर्जी भेहिकलको विकाससँगै आएका नयाँ निर्माताको रोजाईमा सेडान कार पर्न थालेका छन् । इलेक्ट्रीक भेहिकल निर्माणमा नयाँ मानक बनेको कम्पनी टेस्लाले आफ्ना सबै मोडल सेडान मात्र उत्पादन गर्दै आएको छ ।

यो वर्ष टेस्लाले झण्डै १५ लाख गाडी बेच्ने अनुमान गरिएको छ । टेस्लाका कारहरु सबै सेडान भएकाले सेडानको बजार हिस्सालाई टेस्लाको विक्री आँकडाले राम्रो सघाउने छ ।

हुन्डाई आयोनीक ६

टेस्लापछिको अर्को चर्चित ईभी उत्पादक कम्पनी बीवाइडीले पनि आफ्नो फिटमा पावरफुल सेडान कारको रुपमा हान मोडल उतारेको छ । युरोपियन बजारमा राम्रो रेस्पोन्स पाइरहेको यो मोडलको विक्री पनि राम्रो संख्यामा हुने अनुमान गरिएको छ ।

त्यसैगरी जापनीज अटो जायन्ट टोयोटाले पनि हालै मात्र आफ्नो दास्रो ईभी मोडलको रुपमा बीजेड ३ मोडलको सेडान कार ल्याएको छ । साथै, वेलायती लग्जरी कार उत्पादक कम्पनी रोल्स रोयल्सले पनि आफ्नो पहिलो ईभी स्पेक्ट्रा सेडान मोडलमै ल्याएको छ ।

मर्सिडिज इक्यूएसएस

बीएमडब्लु, मर्सिडीज, अउडी, हुन्डाई तथा पोर्स्च जस्ता कम्पनीले पनि इलेक्ट्रीक ड्राइभट्रेनमा सेडान मोडललाई नै अगाडि सारेका छन् । जसका कारण आगामी वर्षहरुमा अटोमोवाइलको विक्रीमा सेडान कारको हिस्सा पनि उल्लेखनीय रुपमा वृद्धि हुने सजिलै अनुमान गर्न सकिन्छ ।


Back_to_top