सर्भिसमा समस्या भएकोले ईभीबाट धुवाँ निस्किएको हो : बिक्रेता

काठमाडौं । आधिकारिक सर्भिस सेन्टरभन्दा बाहिर गाडीको सर्भिससँग सम्बन्धित काम भएकाले गाडीमा समस्या आएको नेपालका लागि सेरेसको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।

आज बिहान आगलागी भएको सेरेसको एसयूभी लोकल सर्भिस सेन्टरमा गरिएको मर्मतको कारण समस्या आएको हुनसक्ने कम्पनीले दाबी गरेको हो ।

गाडीमा देखिएको नियमित प्राविधिक समस्या बाहिर समाधान नभएपछि सर्भिस सेन्टर ल्याएको कम्पनीको भनाइ छ । कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा ल्याएपछि गाडीको पछाडि भागबाट धुवाँ आएको थियो ।

‘गाडी सर्ट सर्किट भएर धुवाँ आएको हो । अहिले पनि गाडीको मुख्य ब्याट्री र मोटरमा समस्या छैन भन्ने प्रारम्भिक परीक्षणले देखाएको छ । त्यसको विस्तृत अनुसन्धान गर्न चीनबाटै प्राविधक टोली नेपाल आउने छ,’ एमएडब्लू वृद्धि स्रोतले भन्यो ।

कम्पनीले विद्युतीय सवारीसाधनहरू धेरै किसिमका सुरक्षा सुविधाले सुसज्जित हुने र त्यसको सर्भिसिङ आधिकारिक सर्भिस नेटवर्कमा मात्रै गर्न उपभोक्तालाई आग्रह गरेको छ ।


Back_to_top