काठमाडौं । युरोपियन ऑटोमोबाइल ब्रान्ड स्कोडाले पैदल यात्रुको सुरक्षाका लागि न्यू कार ग्रिल टेक्नोलोजीको विकास गर्ने भएको छ ।
कम्पनीले यो टेक्नोलोजी पैदल यात्रुका लागि सुरक्षीत रूपमा सडक पार गर्न हरियो बत्ती बल्ने गरी डिजाइन गरिएको जनाएको हो ।
स्कोडाको यो ग्रिल टेक टेक्नोलोजीले पैदल यात्री रहे/नरहेको पत्ता लगाउन क्यामेराको प्रयोग गर्दछ । त्यसपछि पैदल यात्रु रहेको अवस्थामा कारको अगाडिको भागमा हरियो बत्ती स्वतः बल्छ ।
जसले गर्दा पैदल यात्रुले सुरक्षीत रूपमा सहजै सडक पार गर्न सक्नेछन् । यो सुविधा विशेष गरी कम उज्यालो भएको अवस्थामा अथवा भिजिबिलिटी कम हुँदा उपयोगी हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार स्कोडाको नयाँ कार ग्रिल टेक्नोलोजी हाल विकासको क्रममा रहेको छ । यसको प्रोटोटाइपको भने हाल कम्पनीले सडकहरूमा परीक्षण गरेको बताएको छ ।
यो प्रविधि स्कोडाको सडक सुरक्षा सुधार गर्न र पैदल यात्रु संलग्न हुने दुर्घटनाका जोखिम न्यूनीकरण गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा रहेको छ ।
स्कोडा स्मार्ट ग्रिल टेक प्रविधि बाहेक कम्पनीले आफ्ना सवारी साधनमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ सिस्टम र इमर्जेन्सी ब्रेक एसिस्टसहित अन्य सुरक्षा फिचर्स पनि विकास गरेको छ ।

