दुईपांग्रे ब्राण्डमा आकर्षक नयाँ वर्ष स्कीम, नगद छुटदेखि बम्पर उपहारसम्म

काठमाडौं । दुईपांग्रे सवारीसाधन विक्रेता कम्पनीहरूले नेपाली नयाँ वर्ष २०८० को अवसरमा विभिन्न आकर्षक स्कीमहरू ल्याएका छन् ।

विक्रेताहरूले मोटरसाइकल र स्कुटरको व्यापार बढाउनका लागि ग्राहक तान्न नगद छुट, सरल फाइनान्स सुविधा, एक्स्चेन्ज सुविधा, लक्की ड्रमा बम्पर उपहार जित्नेसम्मका योजना ल्याएका हुन् ।

अधिकांश कम्पनीले नयाँ वर्ष सुरू हुनु अगावै ल्याएको नयाँ वर्ष योजना अझै कायम छ । अहिले बजाज, यामाहा, टीभीएस लगायतका ब्राण्डको नयाँ वर्ष स्कीम चलिरहेको छ ।

कुनको ब्राण्डकाे कस्तो स्कीम

बजाज

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितको नयाँ वर्ष स्कीम ल्याएको छ ।

कम्पनीका अनुसार नगदमा मोटरसाइकलमा किन्न चाहाने ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउने छन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् ।

यो स्कीममा सहभागी एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १ किलो चाँदी पनि जित्न सक्नेछन् ।

सेगवे

सेगवे नाइन वट इलेक्ट्रीकको आधिकारिक वितरक आइ हबले नगद छुटसहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले २० हजार रुपैयाँसम्मको नगद छुटमा स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले स्कुटर खरिदमा सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीको नयाँ वर्ष स्कीम अन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । यो योजना सेगवेको काठमाडौं, ललितपुर, पोखरा तथा हेटौंडामा रहेको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टीभीएस

टीभीएसको आधिकारिक विक्री वितरण गर्दै आएको जगदम्बा मोटर्सले ‘च्याम्पियन्स् अफ टेक्नोलोजी’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत टीभीएसको कुनै पनि मोडलको बाइक वा स्कुटरको खरिदमा ग्राहकले आकर्षक नगद छुटसँगै अन्य एसोसरिज उपहार पाउन सक्नेछन् ।

कम्पनीले हरेक टीभीएस बाइकको खरिदमा ८ हजार नगद छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी, ग्राहकले कुनै पनि मोडल टीभीएस स्कुटरको खरिदमा ७ हजार नगद छुट लिन सक्नेछन् ।

यो अफरमा कम्पनीले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासमेत उपलब्ध गराएको छ । यससँगै ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्जमा भने १० हजार रुपैयाँ थप मूल्यांकन दिने कम्पनीले जनाएको छ ।

हिरो

चर्चित दुईपांग्रे ब्राण्ड हिरोले नयाँ वर्ष अफर अन्तर्गत ‘यस २०८० सालमा, चढ्नुहोस् हिरो स्टाइलमा’ नामक स्कीम ल्याएको छ ।

यसमा ग्राहकले हिरोको कुनै पनि मोडलको मोटरसाइकल वा स्कुटरको किन्दा ग्राहले स्क्र्याच कुपनमार्फत हातखाली नहुने गरी नगद छुट पाउने छन् । जसमा ग्राहकले कम्तीमा ७ हजारदेखि १ लाख रुपैयाँसम्म नगद डिस्काउन्ट पाउने छन् ।

साथै, ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमै हिरोको मोटरसाइकल अथवा स्कुटर खरिद गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग ५ मिनेटमै नयाँ साट्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो स्कीम चैत १९ गतेदेखि लागू भएको यो स्कीम आगामी वैशाख १७ गतेसम्म मान्य हुनेछ ।

होन्डा

नेपालको लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘चुज योर स्कीम’अफर ल्याएको छ । यस स्कीम अन्तर्गत ग्राहकले होन्डाको स्कुटर तथा मोटरसाइकल खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाखसम्म नगद जित्न सक्नेछन् ।

साथै, ग्राहकले एक्स्ट्रा तीन स्कीम मध्ये आफूले इच्छाएको एउटा स्कीम समेत छान्न पाउने रहेको छ । तीन स्कीम अन्तर्गत, मोटरसाइकल खरिद गर्दा ग्राहकले फ्रीमा स्पेयर पार्टस, इन्जिन आयल र ८ हजारसम्मको २ वर्ष सर्भिसिङ, एडिस्नल स्क्र्याच अपटु १० हजार र ५ वर्षसम्म १२ हजार ५०० सम्मको एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट ९एएमसी० जस्ता अफरहरू रहेका छन् । यो अफरमा भने शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

यामाहा

यामाहाले नयाँ वर्ष २०८० को अवसरमा ‘पावर अफ फाइभ’ स्कीम सार्वजनिक गरेको हो ।
यामाहाले ल्याएको नयाँ वर्षको स्कीम अन्तर्गत ग्राहकले मोटरसाइकल किन्नु अघिनै ५० हजारसम्म जित्न सक्नेछन् । यसमा मोटरसाइकल वा स्कुटर खरिद गरेपछि वाइल्ड कार्डमार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्न सक्नेछन् ।

त्यस्तै, हरेक मोटरसाइकल तथा स्कुटर खरिद कर्ताले रेफरल कोड मार्फत हरेक हप्ता ३ जना भाग्यशाली विजेताले आइफोन १४, एप्पल वाच तथा एयरपड जित्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजना एमटी १५, आर १५ र फसिनोमा बाहेक अन्य मोडलमा मात्र लागू हुनेछ ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले ल्याएको नयाँ वर्ष पावर अफ फाइभ स्कीममा घरै बसेर वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सहभागी हुन सकिन्छ ।

मोटरहेड

मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै आफ्ना २०२२ मोडलका बाइकहरूमा ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर सार्वजनिक गरेको थियो ।

कम्पनीले सबै प्रकारका खरीद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेट्दै नगदरफाइनान्स र एक्सचेन्ज खरीद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको हो । यसमा ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलको नगद खरीद गरे वापत २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन दिएको हो।

त्यस्तै, फाइनान्स खरीदमा आफूले खरीद गरेको बाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मूल्याङकनमा कम्पनीबाट थप १५ हजारको अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने व्यवस्था गरेको छ ।

यस अफरमा खरीद प्रकार जे-जस्तो भएता पनि यस ब्राण्डका बाइक खरीद कर्ताले कम्पनीको तर्फबाट फुल हेलमेट समेत सित्तैमा पाउन सक्ने व्यवस्था गरिएको छ ।


Back_to_top