स्काइवेल ब्राण्ड विवाद अदालतमा, निर्माता कम्पनीको नामै दुई वटा

काठमाडौं । यसअघि स्काइवेल ब्राण्डको आधिकारीक बिक्रेताको रुपमा काम गर्दै आएको जी मोटर्स अदालत पुगेको छ । स्काइवेलको आधिकारी बिक्रेतामा एलआरआर ग्रुपको प्रबेशसँगै जी मोटर्स अदालत गएको हो ।

जी मोटर्सलाई आधिकारी बिक्रेता नियुक्त गर्ने कम्पनी नान्जिङ गोल्डन ड्रागन बस कम्पनी लिमिटेड हो । तर, नयाँ आधिकारीक बिक्रेता बनेको एलआरआर ग्रुपलाई भने सिन-ई हङकङ कम्पनी लिमिटेडले आधिकारीक बिक्रेता नियुक्त गरेको हो । यसले स्काइवेल ब्राण्डका गाडी दुई अलग कम्पनीले उत्पादन गर्ने जस्तो देखिएको छ ।

एलआरआरसँग सम्झौता गर्ने कम्पनी ।

यहि विषयलाई लिएर जी मोटर्स अदालत गएको हो । उसले सिन-ई हङकङ कम्पनी स्काइवेलका गाडी उत्पादक नभएर वितरक मात्रै भएको दावी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

‘हामीले मुद्दा दर्ता गराएका छौं । चिनियाँ उत्पादकले हाम्रो आधिकारीक बिक्रेता जी मोटर्स मात्रै हो भन्दा भन्दै यहाँ बाणिज्य विभागले मिलेमतोमा कम्पनी दर्ता गरेको छ । त्यसले विभागलाई समेत प्रतिवादी बनाएर अदालत गएका हौं’, जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाले मेरोअटोसँग भने ।

हङकङ स्टक एक्सचेन्जमा सूचीकृत सिन-ई हङकङ कम्पनी ट्रडिङ गर्ने कम्पनीकै रुपमा रहेको देखिन्छ । तर, पछिल्लो समय चिनियाँ ब्राण्डहरुले एउटै गाडीको अन्धाधुन्दा डिलर नियुक्त गर्न थालेका छन् । यसले आयातकर्ता र उपभोक्त दुबैमा अन्योलता आउने देखिन्छ ।

एलआरआर ग्रुपले आज स्काइ वेल बीई-११ मोडलको अधिकतम खुद्रा मूल्य प्रकाशित गरेसँगै नयाँ डिलर नियुक्त भएको विषय बाहिर आएको हो । कम्पनीले बीई-११ को मूल्य ८० लाख रुपैयाँ तोकेको छ ।

बीई-११ मोडलमा ८५.९६ किलोवाट आवरको ब्याट्री दिइएको छ भने १५० किलोवाटको मोटरमा उपलब्ध रहनेछ । यहि गाडीको मूल्य केही दिनअघि जी मोटर्सले ७९ लाख ९० हजार प्रकाशित गरेको थियो ।


Back_to_top