२० देखि ४० लाख मूल्यका ईभीमा थपिदै प्रतिस्पर्धी, बढ्दै ईभी बजार

काठमाडौं । विद्युतीय कार भन्ने वित्तिकै ४० लाखभन्दा माथि, एक करोडसम्म तिर्नुपर्छ भन्ने कुरा धेरैको मनमस्तिष्कमा गडेको छ । साना ईभीको नाममा आएका डब्बाहरुले धेरै मानिसलाई समस्यामा पनि नपारेको होइन । उसोत प्रिमियम ब्राण्ड टेस्लादेखि बीएमडब्लूका ईभी पनि हाम्रो बजारमा उपलब्ध छन् ।

बजारमा सबैभन्दा धेरै चर्चा हुने ईभी किन्न बजेटले नभ्याउने र पेट्रोल कार किन्न नचाहनेको लागि राम्रो विकल्प थिएन भन्दा फरक पर्दैन । मूल्य अनुसारको फिचर टाटा टिगोरमा थियो । तर, कम्प्याक्ट सेडान भएकै कारण यसलाई धेरैले खुलेर किन्न चाहेनन् ।

सिजी मोटरले ल्याएको होजोन ब्राण्डको नेटा भीमा अझ बढी फिचर नभएको होइन । तर, नयाँ ब्राण्डकै कारण जो कोहीले आँखा चिम्लेर यसलाई किन्ने हिम्मत गरेनन् । जुन किसिमको रेन्ज र फिचर नेटा भीमा छन्, एक पटक चलाएर हेर्नेले यसलाई किन्न थालेका छन् । तर, पनि ३० लाखभन्दा कम बजेटमा सानो कार किन्नेसँग बजारमा बिकल्प थिएन ।

विलिङ एयर मिनी २५ लाखदेखि ३१ लाखसम्म मूल्य तोकेर ईभी नेपाल मोटर्सले बिक्री सुरु गरेको थियो । तर, धेरै मानिसले यसमा कन्फिडेन्ट देखाउन सकेनन् । त्यही कारण एक वर्षमा जम्मा ११ यूनिट मात्रै विलिङ एयर मिनी नेपाल आएको छ ।

सिट्रोनले ईसीथ्री नेपाल ल्याएर बिक्री सुरु गरेको छ । आर्थिक वर्षको अन्तिममा नेपाल प्रबेश गरेको ईसीथ्रीले कस्तो बजार पाउँछ, त्यो हेर्न भने बाँकी नै रहेको छ । साँग्रिला मोटर्सले यसलाई ३३ लाखदेखि ३५ लाख रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको छ ।

अब बजारमा नयाँ दुई मोडलका साना कार आउँदै छन् । जसमा टाटा टियागो ईभी र एमजी कोमेट मुख्य मोडल हुन् । एमजी कोमेट भारतमा उत्पादन भएको कम्पनीको पहिलो ईभी हो । यसलाई नाडा अटो शो २०२३ मा नेपाल ल्याउनेगरी पारामाउन्ट मोटर्सले काम गरिरहेको छ ।

त्यही अटो शोमा सिप्रदी ट्रेडिङले पनि टाटाको इलेक्ट्रीक कार टियागो ईभी सार्वजनिक गर्नेछ । मूल्यका हिसावले टियागोभन्दा एमजी कोमेट सस्तो हुने अनुमान गरिएको छ ।

विकल्प बढ्दै

ईभी नै किन्न चाहनेको लागि बजारमा थप विकल्पहरु उपलब्ध हुन थालेका छन् । एमजी–४, बीवाइडी डल्फीन, महिन्द्रा एक्सयूभी–४००, टाटा टियागो ईभी, एमजी कोमेट, सेरेस–३, बीवाइडी सिल, किया ईभी–६ जस्ता नयाँ मोडल अटो शोबाटै नेपाल प्रबेश गर्ने योजनामा छन् ।

अहिले कम्बस्चन इन्जिन भएका गाडी किन्न २२ लाखदेखि माथि मूल्य खर्चगर्नु पर्ने अवस्था छ । तर, राम्रो ब्राण्डका ईभी नै २० लाखबाट सुरु हुने अनुमान लगाउन सकिन्छ । यसले ईभी किन्नेले निकै प्रतिस्पर्धी मूल्यमा पाउने अवस्था छ ।

बढ्दै प्रतिस्पर्धा

अहिले ईभी बजारमा सबैभन्दा ठूलो प्रतिस्पर्धा तीन ब्राण्ड बीच देखिन्छ । टाटा, एमजी र बीवाइडी बीच निकै कडा प्रतिस्पर्धा चल्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अहिले टाटासँग इलेक्ट्रीक एसयूभीको रुपमा नेक्सन ईभी, सेडान कार टिगोर ईभी र आउँदै गरेको ह्याचव्याक कार टियागो ईभी हुनेछ । कम्पनीसँग २५ लाखदेखि ५० लाख मूल्यका विद्युतीय कार हुनेछन् । स्वभाविक रुपमा टाटा अहिले सबैभन्दा धेरै यूनिट ईभी बिक्री गर्ने ब्राण्ड हो ।

मोरिस ग्यारेज (एमजी)सँग पनि अब तीन मोडल उपलब्ध हुनेछन् । कम्पनीसँग जेडएस ईभी अहिले बिक्री भइरहेको मोडल हो भने एमजी–४ दुई दिनअघि मात्रै नेपाल प्रबेश गरेको छ । अबको केही दिनमा कम्पनीले भारतमा उत्पादन भएको कोमेट पनि ल्याउने छ । योसँगै एमजीसँग २० लाखदेखि ५५ लाख मूल्यका ईभी उपलब्ध हुनेछन् ।

ग्लोवल ईभी जाइन्ट बीवाइडी विद्युतीय गाडीको रेसमा पछि पर्ने कुरै भएन । कम्पनीसँग एकपछि अर्को नयाँ मोडल नेपाल ल्याउने योजना छ । अहिले ई–६, एम–३ र एटो–३ मोडल बिक्री गर्दै आएको साइमेक्स इंकले डल्फीन र सिल जस्ता मोडल बिक्री गर्दै आएको छ ।

यसका अलावा हुन्डाई, किया लगायतका केही चिनियाँ ब्राण्डले प्रतिस्पर्धालाई निकै रोचक बनाउने पक्का पक्की छ । हुन्डाईसँग अहिले पनि कोना र आयोनीक–५ जस्ता मोडल उपलब्ध छन् ।


Back_to_top