साना एसयूभीको सुरुवाती मूल्य कति ?

काठमाडौं । दुई वर्ष अगाडिसम्म साना एसयूभीको एकछत्र बजार थियो । ब्रेजा, भेन्यू, म्याग्नाइट, नेक्सन, सोनेट, काइगर र एक्सयूभी ३०० ले बजारमा बलियो उपस्थिति जनाएका थिए ।

आर्थिक मन्दी र ईभीको बढ्दो प्रयोगसँगै साना एसयूभी त्यसमा पनि पेट्रोलियम पदार्थबाट चल्ने साधनको बिक्रीमा निकै ठूलो गिरावट आयो । अहिले सब फोर मिटर सेग्मेन्टमा आउने यी कारको बिक्री नगन्य मात्रै छ ।

नेक्सन ईभीको बिक्री अहिले पनि ठिकै देखिन्छ । तर, उसको पेट्रोल भर्सनले बजारमा कुनै किसिमको छाप छाड्न सकेको छैन । अहिले पनि सुजुकी ब्रेजा कम्पनीको सर्वाधिक आयात भएको मोडल हो । यद्यपि, यसको बिक्री पनि उत्साह पूर्ण देखिदैन ।

यहि अवस्था हुन्डाई भेन्यूको पनि छ । अहिले केहि नयाँ  भेन्यू सडकमा गुडेको देखिन्छ । तर, जुन किसिमको बिक्री पहिला थियो । अहिले त्यसको २५/३० प्रतिशत माथि छैन भन्ने अनुमान लगाउन सकिन्छ ।

निसान म्याग्नाइट र रेनो काइगरको अवस्था पनि झन् कमजोर देखिन्छ । यद्यपि, यी सबै मोडल आ–आफ्नो ब्राण्डमा राम्रो बिक्री भइरहेका छन् । बिक्री कम भएपनि गाडीको मूल्य निरन्तर बढ्दा यी एसयूभीको मूल्य पनि बढिरहेकै छ ।

कुनको मूल्य कति ?

सुजुकीले ब्रेजालाई विभिन्न ६ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले यसको मूल्य ४४ लाख ९९ हजारदेखि ५७ लाख २९ हजार रुपैयाँसम्म तोकेर बिक्री गर्दै आएको छ । ब्रेजाको एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्ट नेपालमा उपलब्ध छन् । कम्पनीले जेडएक्सआई र जेडएक्सआई प्लासमा ड्यूल टोन पनि उपलब्ध गराएको छ ।

हुन्डाईले नयाँ फेसलिफ्ट भेन्यू विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले १.० लिटर टर्बो र १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा भेन्यूलाई बिक्री गर्दै आएको हो । यसको सुरुवाती ई भेरियन्टको मूल्य ४० लाख ९६ हजार छ भने टप एस अप्सनल टर्बो डिसीटीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

रेनो काइगर १.० लिटर इन्जिनमा उपलब्ध छ । यसलाई विभिन्न यसलाई अहिले दुई भेरियन्टमा मात्रै बिक्री गर्दै आएको छ । यसको १.० नेचुरल्ली एस्पीरेटेड इन्जिन भएको आरएक्सई भेरियन्टको मूल्य ३४ लाख ९९ हजार र टर्बो आरएक्सजेड ड्यूल टोन भेरियन्टको ४३ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

निसान म्याग्नाइट पनि रेनो काइगरको जस्तै १.० लिटर इन्जिनमा उपलब्ध मोडल हो । यसलाई विभिन्न १० भेरियन्टमा किन्न सकिन्छ । जसको सुरुवाती भेरियन्ट एक्सइको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्ट एक्सभी प्रिमियमको मूल्य ४८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

टाटा नेक्सन ईभी आएसँगै पेट्रोलको बिक्री निकै कमजोर बनेको मोडल हो । कम्पनीले अहिले पनि बिभिन्न ७ भेरियन्टमा पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन बिक्री गर्दै आएको छ । नेक्सन एक्सई भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै, यसको टप भेरियन्ट एक्सजेडए प्लस (सनरुफ) भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ ।

कुनै बेला कियाले निकै राम्रो संख्यामा बिक्री गरेको सोनेट पनि अहिले सुस्त छ । भेन्यूकै जस्तो १.२ लिटर इन्जिनमा उपलब्ध सोनेट विभिन्न ४ भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्ट एचटीईको मूल्य ३९ लाख ९० हजार र टप भेरियन्ट जिटीएक्स प्लस भेरियन्टको मूल्य ५९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

महिन्द्राको एक्सयूभी ३०० नेपालमा बिक्री भएका सब फोर मिटर एसयूभी मध्ये सबैभन्दा पछि नेपाल आएको मोडल हो । कम्पनीले एक्सयूभी ३०० लाई विभिन्न ४ भेरियन्टको बिक्री गर्दै आएको छ । यसको इन्ट्री भेरियन्ट डब्लू फोरको मूल्य ३९ लाख ५० हजार रुपैयाँ छ । त्यस्तै यसको टप भेरियन्ट डब्लू एट (अप्सनल)को मूल्य ६० लाख रुपैयाँ रहेको छ ।

 


Back_to_top