३५ वर्ष आयु भएको ब्याट्रीमा टोयोटाको इलेक्ट्रीक कार

एजेन्सी । विश्वव्यापी इलेक्ट्रीक भेहिकलको माग बढेसँगै ईभीमा इनर्जी स्टोरेज गरिने ब्याट्रीको विकास धेरै तिब्र गतिमा भइरहेको छ । ब्याट्रीको तौल घटाउने, उच्च पर्फमेन्स क्षमता दिने, चाँडो चार्ज गर्न सकिने र सुरक्षित बनाउने जस्ता विषयमा हरेक दिन नयाँ खोज भइरहेको छ ।

अहिले सबै किसिमका विद्युतीय गाडीमा लिथियम आयोन ब्याट्रीको प्रयोग भईरहेको छ । लिथियम आयोन ब्याट्रीको उत्कुष्ट पफर्मेन्स सामान्यतया ८ देखि १० वर्षको हुने भनिए पनि यसको विश्वव्यापी माग भने बढीनै रहेको छ ।

धेरै तौल, आफैँ डिस्चार्ज हुने, लिमिटेड भोल्टेज र जेल फर्ममा हुने भएकाले अत्याधिक प्रज्वलनशिल लिथियम आयोन ब्याट्रीको बेफाइदाहरु हुन् । ईभीको उत्पादन र विकासमा विश्वका सबै अटोमोवाइल कम्पनीहरु लागेकाले लिथियम आयोनको विकल्प हरेक सेकेन्डमा खोजि भइरहेको छ ।

अहिले विश्व ईभी बजारमा सोलिडस्टेट ब्याट्रीको चर्चा धेरै हुन थालेको छ । हुनत सन् १८३१ मै माइकल फराडेले सोलीड इलेक्ट्रोलाइट सिल्भर सल्फाइड र लिड फ्लोराइड ब्याट्रीको विकास गरेर ‘सोलीड स्टेट’को जग बनाइसका थिए ।

अटोमोवाइल उद्योगमा सन् २०११ मा फ्रेन्च कम्पनी बुलोरेले यो टेक्नलोजीको ब्याट्री प्रयोग गरेर पहिलो ब्लुकार मोडल तयार गरेको थियो । त्यसको लगतै टोयोटा र फक्सवागेनले पनि सोलीड स्टेट ब्याट्री टेक्नलोजीको विकास थालेका थिए ।

अहिले टोयोटाले सोलीड स्टेट व्याट्रीको धेरैवटा अग्राधिकार (प्याटेन्ट) दर्ता गरेको छ । यस दौडमा बीएमडब्लू, होन्डा, हुन्डाई, निसान जस्ता ठूला अटोमोवाइल कम्पनीले पनि आफ्नै हिसावले सोलीड स्टेट ब्याट्री टेक्नलोजीको विकासमा काम गर्दै आएका छन् ।

सोलीड स्टेट टेक्नोलोजीको फड्को

सन् २०१८ मा यूनिभर्सिटी अफ कोलोराडोका रिसर्च टिमलाई सामसङ र हुन्डाईले २० मिलियन डलर दिएर सानो प्रोडक्सन युनिट बनाइ दिएपछि यसको विस्तारित स्वरुप बाहिर आएको हो । पछिल्लो समयमा फक्सवागेनले १०० मिलियन डलर दिएर स्ट्याण्डफोर्ड युनिभर्सीटीलाई यसको रिसर्चमा सहयोग गरेको छ ।

सन् २०२१ मा मुराता म्यानुफ्याक्चरीङले सोलिड स्टेट ब्याट्रीको मास प्रोडक्सन गर्ने घोषणा गरेको थियो । यहि दौडमा फोर्ड र बीएमडब्लूले पनि सोलीड पावर नामक स्टार्ट अपलाई १३० मिलियनको फन्डिङ गरेका छन् ।

सन् २०२२ मा सोलीड स्टेटको खोजमा ५४० मिलियन डलर लगानी पुगेको छ । गत जनवरीमा मात्रै जर्मन कार मेकर मर्सिडिजले प्रालोजीयम टेक्नलोजीसँग टेक्नीकल कोअपरेसनको सम्झौता गरेको थियो ।

तर सन् २०२१ को सेप्टेम्बरमै टोयोटाले आफ्नो फ्यूचर कारमा सोलीड स्टेट ब्याट्रीको प्रयोग गर्ने घोषणा गरेसँगै अटोमोवाइल क्षेत्रमा सोलीड स्टेट ब्याट्रीको प्रयोगको सुनिश्चित्ता भएको हो ।

सोलीड स्टेट ब्याट्री टेक्नलोजीमा वेट (चिसो) इलेक्ट्रोलाइटलाई सुख्खा इलेक्ट्रोलाइटले रिप्लेस गर्छ । यसमा सबैभन्दा ठूलो फाइदा ब्याट्रीको बीचमा हुने सेप्रेट पातलो भए हुन्छ । यो ब्याट्रीमा पावर डेन्सीटी एकदमै धेरै हुनु साथै, यसको आकार पनि सानो हुनेछ ।

प्रारम्भिक दावी अनुसार यो ब्याट्रीको लाइफ ३५ वर्षसम्मको हुनेछ । साथै सुख्खा भएका कारण लिथियम आयोनमा जस्तो पड्कने वा आगलागी हुने खतरा समेत हुँदैन ।

टोयोटाले सुरुमा हाइब्रिडमा प्रयोग गर्ने

टोयोटाले सन् २०२० मै विश्वको पहिलो सोलीड स्टेट ब्याट्री मात्र प्रयोगगरी बनाएको इलेक्ट्रीक भेहिकलको प्रोटोटाइप देखाएको थियो । कम्पनीले एक वर्ष भित्र प्रोडक्सन कन्सेप्ट देखाउने भनेता पनि कोभिड १९ संक्रमण र विश्वव्यापी समीकन्डक्टरको सर्टेजका देखाएको थिएन ।

टोयोटाले सोलीड स्टेट ब्याट्री भएको ईभी बेच्ने पहिलो कम्पनी हुनेमा अझै विश्वास भएको जनाएको छ । टोयोटाले आगामी वर्षमा पहिलो सोलीड स्टेट ब्याट्री आफ्नो हाइब्रिड कारमा प्रयोग गर्ने जानकारी दिएको छ ।


Back_to_top