काठमाडौं । नाडा अटो शो २०२२ लाई मध्येनज गर्दै नेपाल आउने तयारीमा रहेका केही नयाँ स्कुटर र मोटरसाइकल अन्योलमा परेका छन् ।
सरकारले बैशाखदेखि लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै भदौ १४ गतेसम्मका आयात रोक्ने निर्णय लिएसँगै केही मोडलको नेपाल यात्रा अनिश्चित बनेको हो ।
सरकारले अहिले १५० सीसी माथिका तयारी मोटरसाइकल आयात प्रतिबन्ध लगाएको छ । यसअघि २५० सीसी माथिका मोटरसाइकल आयातमा कडाई गरिएको थियो ।
सरकारको प्रतिबन्धका कारण चाँडै नै नेपालमा सार्वजनिक हुने तयारीमा रहेको केही मोटरसाइकल प्रभावित हुने भएका छन् ।
सुजुकीले नेपालमा भित्र्याउने तयारी गरेको पहिलो एड्भेन्चर मोटरसाइकल भिस्ट्रोम २५० र यामाहाले नेपाल ल्याउने तयारी गरेको एरोक्स १५५ स्कुटर प्रभावित हुने भएको हो ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भिजी सुजुकीले नाडा अटो शोमा भी स्ट्रोम २५० सार्वजनिक गर्ने तयारी गरेको थियो । त्यस्तै यामाहाको मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी एमएडब्लूले एरोक्स १५५ स्कुटर विक्री सुरु गर्ने योजना बनाएको थियो ।
सरकारको प्रतिबन्धसँगै यी दुई मोटरसाइकल र स्कुटर कम्तीमा अटो शोबाट विक्री सुरु हुने छैनन् । सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो ।
सुजुकी भी स्ट्रोममा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

त्यस्तै यामाहा एरोक्स १५५ मा १५५ सीसी लिक्विड कुल्ड ४ स्टोक इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बीएच पावर र १४.४ एनएम टर्क उत्पादन गर्छ । एरोक्स १५५ मा सीभीटी अटोमेटिक गियर, १४ इन्चिको अलोय ह्वील, ट्यूवलेस टायर, डिस्क ब्रेक, सिंगल च्यानल एबीएसजस्ता विशेषता रहेका छन् ।

