काठमाडौं । किया र निसानको सब फोर मिटर एसयूभी नेपाल आउने भएको छ । कियाले दशैं अघिबाटै बुकिङ सुरु गरेको सोनेट र निसानले भारतमा दिपावलीको अवसर पारेर बिक्री सुरु गर्न लागेको म्याग्नाइट जनवरीमा नेपाल आउने पक्का भएको छ । यस्तोमा यी दुबै कारका सामु प्रतिस्पर्धीका अगाडि टिक्नु पहिलो चुनौती हुने देखिन्छ ।
निसानको लागि नेपालको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले केहि दिन भित्रै म्याग्नाइटको बुकिङ खोल्ने तयारी गरिरहेको छ । यस्तोमा यी दुई ब्राण्ड बीच हुने प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।
उसोत नेपालमा कियाको तुलनामा निसानको ब्राण्ड प्रतिको झुकाव ग्राहकमा बढी नै पाइन्छ । निसान र किया नेपालमा बिक्री हुने पुरानै ब्राण्ड भएपनि निसानको जापानी लिगेसी निकै बलियो रहेको छ ।
कियाले एक वर्ष अघिसम्म नेपालमा कोरियामा बनेका कार मात्रै बिक्री गर्थ्याे भने निसानले सन् २०१७ पछि भारतमा उत्पादन भएका एसयूभी नेपाल ल्याउन थालेको हो ।

निसान र कियाका दुबै सब फोर मिटर एसयूभी भारतमा उत्पादन भएका मोडल नै नेपाली बजारमा आउने छन् । यद्यपी यी दुबै एसयूभी ग्लोवल मोडल हुन् ।
भारतमा फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू र टाटा नेक्सनको सफलताबाट लोभिएर किया र निसानले बजारमा उतारेका यी दुबै सब फोर मिटर एसयूभीमा ग्राहकको आकर्षण कस्तो हुने छ त्यो भने हेर्न बाँकी नै रहेको छ ।
नेपालमा पनि फोर्ड इकोस्पोर्ट, ब्रेजा, नेक्सन र हुन्डाई भेन्यूले सफलताको स्वाद चाखिसकेका छन् । यस्तोमा यहि सेग्मेन्टमा आउने दुई नयाँ कारलाई बजार बढाउन सहज भने हुने छैन ।
कियाले नेपाल ल्याउने घोषणा गरेर बुकिङ लिइरहेको सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ घोषणा गरेको छ । कम्पनीको यो इन्ट्री लेवल पेट्रोल भेरियन्ट हो । यस बाहेक अर्को पेट्रोल इन्जिन भएको सोनेटको कम्पनीले बुकिङ खुलाएको छैन । अन्य तीन भेरियन्टको बुकिङ खुल्ला गरेको भएपनि यी सबै डिजेल इन्जिन भएका गाडी हुन् ।

निसानले दुई इन्जिन अप्सनमा म्याग्नाइट नेपाल ल्याउने छ । कम्पनीले म्याग्नाइटलाई १.० नेचुरल्ली इन्स्पायर्ड इन्जिन र १.० लिटर टर्बो इन्जिनमा ल्याउने छ । यसको १.० लिटर इन्जिनले अधिकतम ६२५० आरपीएममा ७१ बीएच पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने १.० लिटर टर्बो इन्जिनले ९९ पीएस पावर र १६० एनएम टर्क प्रदान गर्ने छ ।
किया सोनेट दुई पेट्रोल र एक डिजेल इन्जिनमा आउने छ । कम्पनीले १.० टर्बो, १.२ नेचुरल्ली इन्स्पायर्ड र १.५ लिटर डिजेल इन्जिन उपलब्ध रहने छ । अहिले बुकिङ लिइरहेको १.२ पेट्रोल र १.५ लिटर डिजेल इन्जिन भएका गाडी हुन् ।
यसमा रहेको १.२ लिटर इन्जिनले अधिकतम ८२ बीएच पावर र ११४ एनएम टर्क प्रदान गर्छ भने, १.५ लिटर डिजेल इन्जिनले १०० बीएच पावर र २४० एनएम टर्क प्रदान गर्छ । यदि कियाको १.० टर्बो इन्जिन आउने हो भने यसको अधिकतम पावर १२० बीएच रहेको छ । कियाले सोनेटमा ५ स्पीड म्यानुयल, ७ स्पीड डिसिटी र ६ स्पीड आईएमटी गियरबक्स दिएको छ ।
झट्ट हेर्दा यी दुबै कारको डिजाइन आकर्षक र स्पोर्टी रहेको छ भने दुबै कारमा सेग्मेन्टमा नै पहिलो बन्न प्रतिस्पर्धा गरेका केहि फिचर पाउन सकिन्छ ।
मूल्यमा निसान म्याग्नाइट सस्तो हुने अनुमान गरिएको छ । संभवत नेपालमा ३० लाख रुपैयाँबाटै म्याग्नाइट किन्न सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ । यद्यपी कम्पनीले यसको मूल्य भारतमा समेत सार्वजनिक गरेको छैन ।
अब कोरियन लग्जरी र जापानीज टेक्नोलोजी बीचको प्रतिस्पर्धामा कस्ले बाजी मार्छ वा दुबै कार बजारमा चल्तीका इकोस्पोर्ट, नेक्सन, ब्रेजा र भेन्यूको भिडमा हराउँछ त्यो भने हेर्न बाँकी नै छ ।

