सुनकोशीमा पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

खोटाङ । सगरमाथा लोकमार्ग अन्तर्गत दिक्तेल-गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।

नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट-दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। सडक विभागले १ करोड २ लाख रुपैयाँमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो ।

बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल-हलेसी-जयराम-घुर्मी-कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ ।


Back_to_top