काठमाडौं । बीवाइडीले आफ्नो लाइनअपको सबैभन्दा सानो र सस्तो कार सिगल युरोपियन बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले युरोपमा सिगलको नामनै परिवर्तन गरेर ‘डल्फीन सर्फ’ राखेको हो ।
चिनियाँ बजारमा १० हजार अमेरिकी डलरभन्दा पनि सस्तो मूल्यमा बिक्री भइरहेको सिगल ह्याचव्याक युरोपमा डल्फीन सर्फ बनेर बिक्री सुरु हुँदा २६ हजार अमेरिकी डलर पुगेको छ । युरोपमा बीवाइडीले डल्फीन सर्फलाई एक्टीभ, बुस्ट, कम्फर्ट गरी तीन भेरियन्टमा बिक्री सुरु गरेको हो ।
डल्फीन सर्फमा १०.१ इन्चको टचस्कृन, हिटेडसँगै इलेक्ट्रीक एट्जस्टेबल ओआरभीएम दिइएको छ । जसले चालकलाई युरोपको चिसोमा फ्यामली ह्याचव्याक चलाउन निकै सहज बनाउने अपेक्षा गरिएको छ ।
यसमा अलावा रेन सेन्सीङ वाइपर, १६ इन्चको ह्वील, पावर ड्राइभर सिट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर, हिटेड सिट, एलइडी लाइट दिएको छ । बीवाइडीले डल्फीन सर्फमा ६५, ८५, ११५ गरी तीन फरक इलेक्ट्रीक मोटर दिएको छ । ब्याट्री भने ३० र ४३.२ किलोवाट आवर गरी दुई अप्सन पाउन सकिन्छ ।
चिनियाँ निर्माताले यसमा एलएफपी ब्याट्री प्याक प्रयोग गरेको छ । सानो कारले ८५ किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । कारलाई ३० मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको ठूलो ब्याट्रीले अधिकतम सिंगल चार्ज रेन्ज ३२२ किलोमिटर दिनेछ ।