काठमाडौं । दशैं सुरू हुन एक महिना मात्रै बाँकी रहेको छ । विगतका वर्षमा चाडपर्वको अवधिमा नयाँ सावारी साधनको साथै पुराना ‘सेकेन्ड ह्याण्ड कार’को विक्री पनि ठूलो संख्यामा हुने गरेको थियो ।
यस वर्ष नयाँ कारको सप्लाईमा समस्या देखिएसँगै सेकेन्ड ह्याण्ड कारको बजारमा पनि सप्लाईको समस्या देखिने भएको हो ।
अहिले उपत्यकामा करिब चार दर्जन रिकन्डिसन हाउसहरु संचालनमा रहेका छन् । ती रिकन्डिसन हाउसमा गाडी आउने मुख्य स्रोत नयाँ गाडीको विक्री नै हो ।
अहिले उपत्यकामा सेकेन्ड ह्याण्ड गाडीको सप्लाई कम भएसँगै विर्तामोड, विराटनगर, पोखरा, नेपालगंज, भैरहवा, बुटवल, धनगढी, दाङ जस्ता सहरबाट गाडी आयात भइरहेको रिकन्डिसन हाउस संचालकहरुको भनाई छ ।
विशेषत गाडी विक्रेताहरुले संचालन गर्ने एक्स्चेन्ज क्याम्प, अफर जस्ता मौकामा पुराना गाडी बजारमा आउने हुन् । अहिले चलिरहेको विश्वव्यापी सेमीकन्डक्टरको अभावले गाडी उत्पादकले माग अनुसार गाडी उत्पादन गर्न सकिरहेका छैनन् ।
‘कोभिड १९ पछि पुराना र कम मूल्यका गाडीमा ग्राहकको आकर्षण बढेसँगै मूल्यपनि करिब १० प्रतिशतले बढेको छ । मानिसले पुराना गाडी विक्री गरेर नयाँ किन्ने ट्रेन्ड पनि देखिएको छैन । त्यसले उपत्यकाको माग धान्न बाहिरी जिल्लाबाट सेकेन्ड ह्याण्ड गाडी आयात भइरहेको छ’, श्रेया अटोमोवाइलका संचालक सचिन कुईकेलले भने ।
कुईकेलका अनुसार अहिले उपत्यका बाहिरबाट गाडी आयात गर्नु पर्ने अवस्था छ भने साना इन्ट्री लेवलका कारको मूल्यपनि बढी तिर्नु पर्ने अवस्था रहेको छ ।
बजारमा विशेषगरी हुन्डाई सेन्ट्रो, ग्राण्ड आई १०, आई १०, स्वीफ्ट, सेलेरियो, अल्टो जस्ता गाडीको माग उच्च रहेको भएपनि माग अनुसारको गाडी पाउने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।
तर, ३० लाखभन्दा माथिका गाडीमा भने समस्या देखिएको छैन । आम्दानीको स्रोत कम भएकाले थोरै रकममा पुराना गाडी किन्न चाहनेलाई यस पटक अल्लि अफ्ठ्यारो रहेको व्यवसायीहरुको भनाईबाट बुझ्न कठिन छैन ।
नयाँ गाडीसँग सेकेन्ड ह्याण्डको सम्बन्ध
बजारमा आउने सेकेन्ड ह्याण्ड कारको मुख्य स्रोत पुरानो गाडी छाडेर नयाँ किन्न ग्राहकहरु नै हुन् । अहिले बजारमा चल्तीका गाडीमा देखिएको आपूर्ति समस्याको कारण नयाँ गाडी पाउने अवस्था छैन । एउटा गाडी चढिरहेको मानिसले आफ्नो छनोट अनुसारको गाडी नपाएसम्म पुरानो गाडी नबेच्ने भएको कारण बजारमा पुरानो गाडी आउन नसकेको हो ।
विशेषत गाडी विक्रेताहरुले संचालन गर्ने एक्स्चेन्ज क्याम्प, अफर जस्ता मौकामा पुराना गाडी बजारमा आउने हुन् । अहिले चलिरहेको विश्वव्यापी सेमीकन्डक्टरको अभावले गाडी उत्पादकले माग अनुसार गाडी उत्पादन गर्न सकिरहेका छैनन् । त्यसको असर नयाँ कारको बजारमा मात्र होइन, पुराना गाडीको बजारमा पनि परिरहेको छ ।

