काठमाडौं । सुजुकी मोटर्सका लागि नेपालको आधिकारीक वितरक भिजी अटोमोबाइलले अटो शोलाई लक्षित गर्दै विभिन्न मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले अटो शोमा आफ्नो उपस्थितिलाई बलियो बनाउन बिभिन्न नयाँ प्रडक्ट ल्याउन लागेको जनाएको छ ।
सुजुकी टुह्वीलर्सले भारतीय बजारमा केही महिना अगाडि सार्वजनिक गरेको सुजुकी वर्गम्यान स्ट्रीट स्कुटरलाई अटो शोमा सार्वजनिक गर्ने भएको छ । नयाँ वर्गम्यान स्ट्रीट सुजुकीको हालसम्मकै सर्वाधिक स्टाइलिस तथा म्याक्सी स्कुटरको रुपमा परिचित छ । कम्पनीले यो मोडलको मूल्य नेपालमा कति पर्छ भन्ने खुलाएको छैन ।
कम्पनीले स्कुटरलाई शोकेस गर्ने र आगामी नोभेम्बरमा सार्वजनिक गर्ने योजना बनाएको छ । यसमा १२५ सीसीको सिङ्गल सिलिन्डर एसओएचसी, फोरस्ट्रोक इन्जिन रहेको छ, जसले १० बीएचपीको पावर दिनेछ । म्याक्सी स्कुटर एक प्रकारको टुरिङ स्कुटर हो, जसमा हावाबाट बचाउनका लागि अघिल्लो भागमा विशेष डिजाइन गरिएको हुन्छ र सामान्य स्कुटरभन्दा बढी आरामदायी हुन्छ ।
एक्सेस–१२५
सुजुकीले अटो शोमा लेक्सस स्कुटरलाई पनि शोकेस गर्ने छ । एक्सेस स्कुटरमा सुजुकीले ल्याएको कम्बाइन्ड ब्रेकिङ सिस्टमसहितको १२५ सीसी क्षमताको इन्जिन रहेको छ । सुजुकी एक्सेस–१२५ को स्पेशल एडिसनमा मेटालिक सोनिकबेज कलरमा निर्माण गरिएको छ । यसमा लेदर सिट दिइएकोे छ । यसको अलवा प्रिमियम लुक्समा निर्माण गरेको एक्सेस–१२५ सीसी सेग्मेन्टको पपुलर स्कुटर हुने कम्पनीले दाबी गरेको छ ।
सीबीएस भर्सनमा निर्माण भएको यो स्कुटरको मूल्य भारतीय बजारमा ५८ हजार नौ सय ८० भारतीय रुपैयाँ रहेको छ । १२५ इञ्जिन सेग्मेन्टमा सुजुकी एक्सेस फिचर्स, लुक्स, माइलेज तथा पावरफूल पफर्मेन्सको लागि चर्चित छ । यसले ८.७ पीएस पावरकासाथै १०.२ एनएमटर्क उत्पादन गर्छ । यसले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने दाबी गरेको छ ।
कम्पनीले जिक्सर, इन्टुडर मोटरसाइकल, लेर्क स्कुटरलगायतका मोडल नाडा अटो शोमा शोकेस गर्ने जनाएको छ ।

