काठमाडौं । सबै राम्रा उत्पादन बजारमा चल्छन् भन्ने हुँदैन । राम्रा उत्पादनका सबल पक्षलाई उपभोक्ता माझ लान नसक्दा यस्ता उत्पादनहरु बजारमा असफल हुन्छन् । अहिले नेपालमा विक्री वितरण भइरहेको मोटरसाइकल ब्राण्डमा बजाज पहिलो स्थानमा छ भने टीभीएस दोस्रो स्थानमा आइपुगेको छ । यामाहा, होन्डा र हिरो टप ५ कम्पनीमा पर्छन् ।
माथि उल्लेख गरिएका बजाज, टीभीएस र हिरो पूर्णत भारतीय कम्पनी हुन् भने यामाहा र होन्डा जापानी कम्पनी हुन् । यी कम्पनीले भारतमा उत्पादन गरेका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा विक्री वितरण गर्दै आएका छन् ।
सुजुकी पनि जापानी कम्पनी हो र यसका भारतीय उत्पादन नेपाली बजारमा विक्री हुँदै आएका छन् । तर, माथि उल्लेख गरिएका ५ कम्पनीले करिब कुल बजार हिस्साको ९२ प्रतिशतभन्दा धेरै बजार हिस्सा ओगट्दा सुजुकीको बजार हिस्सा १ प्रतिशत मात्रै रहेको पाइन्छ ।
यो पनि पढ्नुस्ः कोरोनाकालमा नेपाल आयो २ लाख ५९ हजार मोटरसाइकल, यस्तो छ कम्पनीहरुको आयात (सूचीसहित)
सन् २०२० अप्रिल १ देखि २०२१ मार्च ३१ तारिखसम्मको आयात तथ्यांक हेर्दा नेपालमा २ लाख ५८ हजार ८४९ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन् । त्यसमा सुजुकीका उत्पादन २ हजार ८८० यूनिट मात्रै आयात भएको देखिन्छ । यसले सुजुकी नेपाली बजारमा कति कमजोर छ भन्ने तथ्यलाई देखाउँछ ।

प्रोडक्ट नभएर यस्तो भएको हो त ? भन्ने धेरै मानिसको जिज्ञासा यहाँ हुन सक्छ । तर, त्यो सत्य होइन । सुजुकीले नेपाली बजारमा १ लाख ८९ हजार ९०० देखि ५ लाख १ हजार मूल्यसम्मको मोटरसाइकल र २ लाख ५९ हजार ९०० रुपैयाँसम्मको स्कुटर विक्री गर्दै आएको छ ।
सुजुकी हायाते, एसेस १२५ स्कुटर, वर्गम्यान स्ट्रीट, जिक्सर १५०, जिक्सर १५० एसएफ, जिक्सर १५० एसएफ मोटोजीपी, जिक्सर २५०, जिक्सर २५० एसएफ र जिक्सर २५० एसएफ मोटोजीपी मोडलको विक्री गर्दै आएको छ । यी सबै मोडलको विक्री मिलाउँदा पनि ३ हजार यूनिट कटाउन नसक्नुलाई अनौठो मान्न सकिन्छ ।
अघिल्ला वर्षमा कस्तो थियो विक्री
हामीले यहाँ अंग्रेजी आर्थिक वर्ष २०१५/१६ देखिको आयात तथ्यांकलाई देखाएका छौं । कम्पनीले २०१५/१६ मा ५ हजार ७६७ यूनिट मोटरसाइकल तथा स्कुटर आयात गरेको थियो भने आर्थिक वर्ष २०१६/१७ मा ४ हजार २४२ यूनिट आयत गरेको थियो ।
आर्थिक वर्ष २०१७/१८ मा ५ हजार ८०१ यूनिट आयात गरेको कम्पनीले २०१८/१९ मा ६ हजार ६१४ यूनिट र आर्थिक वर्ष २०१९/२० मा ५ हजार १६१ यूनिट आयात गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०१९/२० को तुलनामा गत आर्थिक वर्ष २०२०/२१ मा २ हजार ८८० यूनिट आयात गरेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा ४४.२० प्रतिशतले कम हो ।

कमजोर ब्राण्डिङ मुख्य कारण
सुजुकीका मोटरसाइकल विशाल ग्रुप अन्तर्गतको भिजी सुजुकीले आयात गर्दै आएको छ । अटोमोवाइल क्षेत्रमा विशाल ग्रुप नयाँ नाम भने होइन । यसका बाबजुद सुजुकी मोटरसाइकलमा कम्पनीको लगाव खासै देखिदैन ।
यसका उत्पादन, टेक्नोलोजी, विक्री नेटवर्क, सर्भिस नेटवर्क, ग्राहक केन्द्रित गतिविधि, रिसेल मूल्य सबै पक्ष कमजोर रहेको छ । यतिसम्म कि कम्पनीको आधिकारी वेभसाइट समेत अहिलेसम्म छैन ।
भिजी सुजुकीले आफ्ना उत्पादनको बारेमा जानकारी दिन आवश्यक कुनै रणनीति अपनाएको देखिदैन भने भएका उत्पादनलाई सहि तरिकाले बजारीकरणमा चुकेको प्रस्टै देखिन्छ । अहिलेको समयमा सबै मुख्य कम्पनीले आफ्ना उत्पादनको विषयमा धेरैभन्दा धेरै कुरा ग्राहकमाझ पुर्याउन कोशिस गरिरहेका हुन्छन् । ब्राण्ड बारेको जनचेतना पनि सुजुकी निकै कमजोर रहेको छ ।
रोयल इन्फिल्ड र अप्रिलियाभन्दा पनि कमजोर
निकै अचम्म लाग्दो विषय त सिमित मोडल विक्री गर्ने अप्रिलिया र रोयल इन्फिल्डभन्दा पनि कमजोर आयात सुजुकीको देखिन्छ । रोयल इन्फिल्डले गत आर्थिक वर्षमा ५ हजार ७५९ यूनिट र अप्रिलियाले ४ हजार ८११ यूनिट आयात गरेका छन् । ७ मोडलका मोटरसाइकल र २ मोडलको स्कुटर विक्री गर्ने सुजुकीको आयात २ हजार ८८० यूनिट मात्रै रहेको छ ।
माथिका तथ्यांकलाई हेर्दा सुजुकीको नेपालमा निकै खराव पर्फमेन्स रहेको भन्न हिच्किचाउनु पर्दैन । यसलाई सुधार गरेर राम्रो व्यवसाय गर्ने वा नगर्ने भन्ने विषय कम्पनीले लिने आगामी रणनीतिले तय गर्ने छ । अन्यथा नेपालबाट चाँडै एउटा राम्रो ब्राण्ड विस्थापित नहोला भन्न सकिदैन ।

