काठमाडौं । मारुती सुजुकीले आफ्नो सफल सवफोर मिटर एसयूभी ब्रेजाकै साइजमा नयाँ क्रसओभर फ्रङ्क्स नेपालमा बिक्री सुरु गर्दैछ । कम्पनीले अहिले बुकिङ खुल्ला गरेको फ्रङ्क्सको मूल्य साउन ८ गते सार्वजनिक हुनेछ ।
मूल्यको हिसावले फ्रङ्क्स ब्रेजाभन्दा ४ देखि ५ लाख कम मूल्यमा बजारमा आउने छ । ब्रेजाको सुरुवाती मूल्य ४४ लाख रुपैयाँ रहेको छ भने फ्रङ्क्सको मूल्य ३८/३९ लाख रुपैयाँबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
मारुती सुजुकीले प्रिमियम ह्याचव्याक बलेनो प्लेटफर्ममा बनाएको फ्रङ्क्स नेपालमा बिक्री सुरु हुन लागेको कारण कम्पनीको सर्वाधिक सफल ब्रेजा किन्न चाहनेको रोजाईमा फ्रङ्क्स पर्न सक्छ । त्यसैले ब्रेजा र फ्रङ्क्समा रहेका भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
साइजमा फरक
फ्रङ्क्सको लम्बाई ३९९५ एमएम, चौडाई १७६५ एमएम र उचाई १५५० एमएम छ । फ्रङ्क्स र ब्रेजाको लम्बाई समान छ । तर, ब्रेजा उचाईमा १३५ एमएम र २५ एमएम फराकिलो छ ।

फ्रङ्क्सको ह्वीलवेस २५२० एमएम छ, ब्रजामा थप २० एमएम लामो २५४० एमएमको ह्वीलवेस पाउन सकिन्छ । ब्रेजामा १९८ एमएमको ग्राउण्ड क्लियरेन्स छ भने फ्रङ्क्समा १९० एमएम रहेको छ ।
इन्जिन र पफर्मेन्स
यी दुई गाडीमा रहेको मुख्य भिन्नता इन्जिनमा छ । मारुती सुजुकीले फ्रङ्क्समा आफ्नो प्रसिद्ध बुस्टर जेट इन्जिन अफर दिएको छ । यसमा १.० लिटर टर्बो पेट्रोल र १.२ लिटरको रेगुलर इन्जिन भेट्टाउन सकिन्छ । सम्भवत सिजी मोटोकर्पले १.२ लिटर क्षमताको इन्जिनमा मात्रै यसलाई ल्याउने छ ।
फ्रङ्क्समा रहेको टर्बो इन्जिनले १०० हर्स पावर र १.२ लिटरको रेगुलर पेट्रोल इन्जिनले ९० हर्स पावर प्रदान गर्छ । यो इन्जिनमा ५ स्पीडको म्यानुअल र एएमटी गियरबक्स रहेको छ । टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
ब्रेजामा भने १.५ लिटर क्षमताको के–सिरिज पेट्रोल इन्जिन रहेको छ । बुस्टर जेट इन्जिनभन्दा ठूलो साइजको इन्जिन छ । यो एसयूभीले १०३ हर्सपावर तथा १३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । ब्रेजामा ५ स्पीडको म्यानुअल गियरबक्स उपलब्ध छ ।

फिचरमा भिन्नता
यदि तपाईको आवश्यकता सनरुफ हो भने फ्रङ्क्समा छैन । मारुती सुजुकीले नयाँ ब्रेजामा सनरुफ दिएको छ । ह्वील साइजमा भने फ्रङ्क्स अगाडि छ । ब्रेजामा जम्मा १६ इन्चको ह्वील छ । फ्रङ्क्समा १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ । दुबै एसयूभीमा हेडअप डिस्प्ले, ३६० डिग्री क्यामरा, वायरलेस कनेक्टीभीटी जस्ता फिचर भने समान छन् ।


