काठमाडौं । जापानी कार निर्माता कम्पनी सुजुकीले विद्युतीय कार उत्पादनमा ठोस कदम चालेको छैन । यद्यपी कम्पनीले सन् २०२५ मा कम्पनीको पहिलो इलेक्ट्रीक मोडल ल्याउने जनाएको छ ।
सुजुकीको सबैभन्दा ठूलो बजार भारत र जापान हो भने यूरोपियन बजारमा पनि राम्रै उपस्थिति रहेको छ । कम्पनीले विश्वभर विद्युतीय कारको माग तिव्रगतिमा बढ्न थालेपछि मात्रै इभी उत्पादनमा लाग्ने जनाएको छ ।
मारुती सुजुकी इन्डियाका चेयरम्यान आरसी भार्गभले भारतमा मासिक १० हजार यूनिट इभी विक्री हुन थालेपछि मात्रै कम्पनीले विद्युतीय कार ल्याउने जानकारी दिएका छन् । यसले पनि विद्युतीय कार प्रति सुजुकीको योजना प्रस्ट हुन्छ ।
अझै इभीको लागि आवश्यक पर्ने इको सिस्टम निर्माण नभएको भन्दै भार्गभले भनेका छन्, ‘व्याट्री उत्पादन, चार्जिङ स्टेशन, विद्युतको गुणस्तरिय वितरण जस्ता कुरामा ध्यन दिनु पर्ने छ ।’
मारुती सुजुकीले सन् २०१९ मा नै वागेन आर इभीको प्रटोटाइप निर्माण गरेर परिक्षण गरिरहेको भएपनि तत्काल त्यसको उत्पादन नहुने अनुमान गर्न सकिन्छ । विश्वमा ठूला पेट्रोल र डिजेल इन्जिन प्रयोग गरेर गाडी बनाउने कम्पनीहरुलाई कार्वनउत्सर्जन कटौती गर्न दवाब रहेपनि सुजुकी कम्पनीलाई त्यस्तो दवाव छैन ।
कम्पनीले उत्पादन गर्ने कारमा साना इन्जिन प्रयोग हुने र सधै कम्पनी उच्च माइलेजलाई ध्यानमा राख्दै आएकाले नयाँ ‘क्याफी रुल’ले उसलाई फरक पर्ने देखिदैन । सन् २०२२ बाट एउटा सवारी साधनले फाल्ने कार्वनडाइअक्साइडका मात्रा प्रति किलोमिटर ११३ ग्राम हुनु पर्छ । यो लक्ष्य सुजुकीका कारले अहिले नै पुरा गरिरहेका छन् ।
त्यसैले विद्युतीय कारको माग उच्च रुपमा बढ्न नथालेसम्म कम्पनीले इभी उत्पादनमा आक्रमक लगानी नगर्ने योजना बनाएको हो । तथापी टोयोटासँग सहकार्य गरेर काम गर्दै आएको कम्पनीले टोयोटाले विकास गर्ने इभी प्लेटफर्ममा नयाँ मोडलको तयारी भने भित्र भित्रै गरिरहेको मिडिया रिपोर्टहरु बाहिर आएका छन् ।
सन् २०२२ मा भने कम्पनीले नयाँ मोडलहरु बजारमा ल्याउने तयारी गरिरहेको छ । यसअघि विक्री हुँदै आएको बलेनो, अल्टो र ब्रेजाको नयाँ जेनेरेशन मोडल ल्याउने तयारी भइरहेको छ भने एउटा क्रसओभर मोडल र अर्को कम्प्याक्ट एसयूभी पनि यही वर्ष बजारमा आउने छ ।


