काठमाडौं । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकीले ठूलो साइजको एसयूभी बनाउने भएको छ । कम्पनीले ७ सिट क्षमताको सेग्मेन्टमा नयाँ एसयूभी ल्याउने तयारी गरेको हो ।
कम्पनीले ल्याउने नयाँ एसयूभी ‘वाई–१७’ कोड नेम दिएर उत्पादनको काम भइरहेको बताइन्छ । सुजुकीको नयाँ एसयूभीले भारतमा निर्माण भएका टाटा सफारी र महिन्द्रा एक्सयूभी ७०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
मारुतीको ७ सिट एसयूभी सुजुकी ग्लोबलको ग्राण्ड भिटारा जस्तै ‘सी प्लेटफर्म’मा बन्ने छ । यसमा पनि भिटाराको जस्तै १.५ लिटर क्षमताको ‘स्ट्रङ हाइब्रिड र माइल्ड हाइब्रिड’ पेट्रोल इन्जिन रहने रिपोर्टहरुले उल्लेख गरेका छन् ।
मारुतीले जस्तै टोयोटाले पनि ७ सिट क्षमताको कोरोल्ला क्रस मोडल भारतमा विकास गरिरहेको खवरहरु बाहिर आएका छन् । मारुती सुजुकी र टोयोटाका बीचमा रणनीतिक साझेदारी रहेको छ । दुबै जापानी ब्राण्डले ७ सिट क्षमताको नयाँ एसयूभी सन् २०२५ मा बजारमा ल्याउने छन् ।

