बलियो टाटाले थप्दै ५ नयाँ ईभी, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं । टाटा मोटर्स इन्डियाले विद्युतीय कार उत्पादन गर्न थालेसँगै नेपालमा टाटाको बजार हिस्सा र बिक्री दुबै बढ्यो । भारतमा विद्युतीय कारको बजार सोचेजस्तो ग्रोथ नभएपनि टाटाले बजार हिस्साको आधारमा कब्जा जमाएको छ भन्दा फरक पर्दैन ।

नेपालमा विद्युतीय कारको आयात सुरु भएसँगै टाटाका विद्युतीय साधन छ्यापछ्याप्ती देखिन थालेका थिए । टाटा नेक्सन ईभीको सहायतमा प्यासेन्जर कार सेग्मेन्टमा आफुलाई बलियो बनाएको टाटाले त्यसपछि टिगोर र टियागो दुई मोडल क्रमशः बजारमा ल्याएको हो ।

टाटा टियागो ईभी नेपाल आएको तीन महिना मात्रै भएको छ । यसले ह्याचव्याक सेग्मेन्टलाई माथि उठाएर आफुलाई शिखरमा उभ्याउन सफल भयो । सिप्रदी ट्रेडिङले ‘एक्सप्रेस टी’ मोडलबाट ट्याक्सीको बजारमा पनि हात हाल्यो । जुन पहिलो दिनबाटै सफलताको स्वाद चाखिरहेको छ ।

टाटाको विलयो नेटवर्क, मूल्यका हिसावले उत्कृष्ट र फिचरको माध्यमबाट पनि ग्राहकको आवश्यकता पुरा गर्न सफल भएसँगै विद्युतीय कार बजारमा टाटाको बलियो उपस्थिति बन्यो ।

आउँदै ५ नयाँ मोडल

टाटाले विद्युतीय कार बजारमा आफुलाई बलियो बनाउन आफ्ना सबै मोडललाई ईभी बनाउने यसअघि नै घोषणा गरेको थियो । त्यहि योजना मुताविक टिगोर, टियागो र नेक्सन ईभी बजारमा आएका हुन् ।

कम्पनीले थप ५ नयाँ मोडल दुई वर्ष भित्रै बजारमा ल्याउने छ । जसमा टाटा पन्च, अल्ट्रोज, ह्यारीयर, कर्भ र सियरा मोडल ईभीमा आउने छन् । यी सबै मोडल पेट्रोल, डिजेल र ईभी भर्सनमा उपलब्ध हुने टाटाको भनाइ छ ।

टाटा मोटर्सले अहिले जीपट्रोन टेक्नोलोजीको ‘फेज २’मा आधारित भएर ईभी उत्पादन गर्दै आएको छ । सन् २०२६ पछि भने कम्पनीले प्योर ईभी प्लेटफर्ममा नयाँ मोडल ल्याउने छ । सम्भवत ‘अभिन्या’ कन्सेप्टमा आधारित मोडल पहिलो प्योर ईभी प्लेटफर्ममा बन्नेछ ।

नेपालमा थप बलियो बन्न सक्ने

टाटाको ईभी तयारी र सिप्रदीको रणनीतिलाई फ्यूजन मान्ने हो भने विद्युतीय साधनको ब्यापारमा अझै केही वर्ष टाटाको वर्चश्व रहने सहजै अनुमान गर्न सकिन्छ । विद्युतीय गाडीको लागि आवश्यक पूर्वाधारमा गरेको लगानी र थप योजनालाई भेट्टाउन अन्य ब्राण्डलाई तत्काल धौधौ पर्ने देखिन्छ ।

अहिले नै आफ्नै फास्ट चार्जर नेटवर्क तयार पारेको सिप्रदीले टाटा पावरको सहायतामा ठूलो चार्जिङ नेटवर्क बनाउने तयारी गरिरहेको छ । यदि कम्पनीको योजना अनुसार थप चार्जिङ पूर्वाधार बन्ने हो भने टाटाका ईभीले अझै धेरैको मन मस्तिष्कमा छाप छाड्ने पक्का छ ।


Back_to_top