नेपाल आयो NHT-200 एड्भेन्चर मोटरसाइकल, मूल्य ५ लाख ४९ हजार

काठमाडौं । नेपाली बजारमा नयाँ ब्राण्डको डबल स्पोर्टस् मोटरसाइकल भित्रिएको छ । एसवाईएम ब्रान्डको ताइवानी मोटरसाइकल नेपाल आएको हो ।

एसवाईएमको डबल स्पोर्टस बाइक एनएचटी २०० निकै आकर्षक डिजाइनमा नेपाल आएको हो । एसवाईएमको आधिकारिक वितरकमा केजी इन्टरनेसनल रहेको छ । एसवाईएम यसअघि पनि नेपाली बजारमा उपलब्ध रहेको थियो । खासै जम्न नसकेपछि यसको विक्री बन्द गरिएको थियो ।

केजी इन्टरनेशनलले काठमाडौंको कमलपोखरीमा शोरुम खोलेर एसवाईएम ब्राण्डका उत्पादन विक्री सुरु गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार कोभिड १९ को कारण सवारी दर्ता प्रक्रिया रोकिएकाले केही दिनपछि मात्रै आधिकारीक लन्चिङको कार्यक्रम गर्ने तयारी भएको छ ।

एसवाईएम एनएचटी २०० मा १८३ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई इन्जिन रहको छ । यो इन्जिनले २१ बीएच पावर तथा १५.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

एनएचटी २०० मा सबै लाइट एलइडी प्रयोग भएको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल स्वीचेवल एबीएस दिइएको छ । पछाडि चक्कामा दिएको एबीएस आवश्यकता अनुसार अन/अफ गर्न मिल्छ । साथै, यसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, अगाडि टेलिस्कोपिक र पछाडि स्वङ आर्म सस्पेन्सन पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य ५ लाख ४८ हजार ८८८ रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यो मूल्य पहिलो १०० जनाले मात्र पाउने कम्पनीले जनाएको छ भने केही समय पश्चात् यसको मूल्य बढ्ने कम्पनीको भनाई छ ।


Back_to_top