काठमाडौं । गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो ।
निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनले भने ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गरे ।
बानियाँटारबाट सामाखुशी जान लागेकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर आफु आएको बताउँछिन् । ‘माइक्रोबस कम भएपछि खुट्टा हाल्ने ठाउँसमेत नभएपछि म हिँडेर आएको हुँ,’ उनले भनिन् ।
यसैगरी सामाखुशीबाट रत्नपार्क जान लागेका रोहित ढकाल सवारी नपाएपछि तनावमा देखिन्थे । ‘बस चढ्नका लागि ठाउँ नै छैन कसरी जाने’, उनले प्रश्न गरे ।
यी केवल प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उनीहरुजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा परेका छन् । गंगबुँ, गल्कोपाखा, लैनचौर भएर रत्नापार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन् ।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउँछन् ।
‘नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो ?’ उनले प्रश्न गरे ।
निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनले भने ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गरे ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायातले विभागमा निवेदन दिएको बताउँदै उक्त कारवाहीबारे कुनै निर्णय नभइसकिएको जानकारी दिए । निलम्बन फुुकुवाका लागि विभागमा छलफल भइरहेको उनको भनाइ छ ।
सामाखुशी यातायातले यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ ठूला बससमेत सञ्चालन गर्न लागेको छ ।
प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गँगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको छ ।
ठूला बस सञ्चालन भएसँगै गँगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् ।
सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापतिले सात करोड रुपैयाँको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौं’, उनले भने ।
सोही मार्गमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले एक करोड ९० लाख रुपैयाँ अनुदान दिएको छ । बस जेठभित्र नेपाल आउने र सञ्चालन भइसक्ने उनको भनाइ छ ।
सोही मार्गमा ठूला बस सञ्चालन भएसँगै गँगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी मार्ग निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी मार्गमा ठूला तथा टर्सरी मार्गमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।