काठमाडौं । टाटा मोटर्सले प्रिमियम ह्याचब्याक अल्ट्रोजको फेसलिफ्ट मोडल लन्च गर्ने भएको छ । कम्पनीले मे २२ तारिकमा अल्ट्रोज फेसलिफ्ट लन्च गर्ने भएको हो ।
भारतीय कार उत्पादकले अल्ट्रोज फेसलिफ्टको टिजर भिडियो सार्वजनिक गर्दै नयाँ फेसलिफ्ट मोडलबारे केही जानकारी बाहिर ल्याएको हो । कम्पनीले यसमा रि-डिजाइन गरेको हेडल्याम्प दिएको देख्न सकिन्छ ।
कम्पनीले सबै लाइटहरू एलईडी प्रयोग गरेको छ । डे टाइम रनिङ लाइट पनि ‘आइब्रो डिजाइन’मा दिएको देख्न सकिन्छ । यसका अलावा कारको फ्रन्ट र रियर बम्पर परिमार्जन भएको छ ।
टाटाले ह्याचब्याक कारमा कर्भको जस्तै फ्लस डोर ह्याण्डल दिएको छ । फ्रन्ट ग्रिल पनि थ्रीडी स्टाइलमा देखिएको छ । कारको अर्को ठूलो परिवर्तन रियरमा भएको छ । अब टेलल्याम्प पनि कनेक्टेड डिजाइनमा पाउन सकिन्छ ।
टाटा अल्ट्रोज फेसलिफ्टको ड्यासबोर्डमा पनि धेरै परिवर्तन गरिएको छ । यसमा नयाँ १०.२५ इन्चको टचस्क्रीन डिस्प्ले, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर थपिएको छ ।
कम्पनीले अल्ट्रोज फेसलिफ्टमा ३६० डिग्री पार्किङ क्यामरा, नयाँ डिजाइनको सिट, सिङ्गल प्यानल सनरुफ, एम्बियन्ट लाइट जस्ता फिचर दिएर प्रिमियम बनाउने कोशिस गरेको छ ।
अल्ट्रोज प्रिमियम ह्याचब्याकमा १.२ लिटरको पेट्रोल र १.२ लिटरको टर्बो पेट्रोल इन्जिन दिएको छ । यसमा म्यानुअल र अटोमेटिक गियरबक्स रहने छ ।

