काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कर बढ्ने हल्लाका कारण व्यवसायीहरूले धमाधम गाडी आयात गर्न थालेका छन् ।
बजेट आउने समय नजिकिँदै गर्दा सवारी बिक्रेताहरूले ईभी आयात ह्वात्तै बढाएका हुन् । बजेटमा कर बढेमा अहिले बेचिरहेका गाडीको मूल्य बढ्ने भएकाले व्यापारीले बजेट अगावै आफ्नो क्षमताले भ्याए जति गाडी ल्याएर स्टक राख्न थालेका हुन् ।
अहिले सस्तो मूल्यमा गाडी ल्याएर बजेटपछि बेच्दा मूल्य बढ्ने र नाफा कमाउन सकिने देखेर व्यवसायीले धमाधम गाडी आयात गरिरहेका हुन् । यद्यपि, कर बढ्छ नै भन्ने निश्चित छैन । तर, स्रोतको चापमा परेको सरकारलाई ईभीमा कर बढाउन सुझाव आइरहेकाले बढाउने आँकलन छ ।
वैशाख लागेपछि मुख्य गरी चिनियाँ ब्राण्डका ईभीको आयात ह्वात्तै बढेको छ । चीनबाट गाडी आयात गरिने मुख्य तातोपानी र रसुवागढी भन्सारका यार्ड अहिले चिनियाँ ईभीले भरिएका छन् । दुई भन्सार कार्यालयबाट वैशाख लागेपछि मात्रै १ हजार बढी युनिट ईभी जाँचपास भइसकेको छ ।
त्यस्तै, दुई कार्यालयको यार्ड र वरिपरीका सडकमा मात्रै जाँचपास हुन बाँकी रहेका १ हजार ३०० युनिट ईभी थुप्रिएर बसेका छन् ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी कमलकुमार भट्टराईका अनुसार हाल भन्सार यार्डमा १ हजार बढी नयाँ सवारी साधन छन् । तीमध्ये झण्डै आधा वैशाखामा मात्र ल्याइएको उनले जानकारी दिए ।
‘तातोपानी भन्सार यार्डमा हाल १ हजार बढी ईभी थुप्रिएका छन् । तीमध्ये ५०० बढी विगतका महिनाहरूमा ल्याइएका हुन् । वैशाख लागेपछि मात्रै ५०० ईभी आयात भएका छन्,’ उनले मेरोअटोसँग भने ।
भन्सार यार्डमा रहेका १ हजार ईभीमध्ये ३०० युनिट जाँचपासको प्रक्रिया अघि बढेको उनले बताए । बजेट नजिकिएसँगै आगामी दिनमा ईभी आयात हुने क्रम झनै बढ्ने देखिएको उनको भनाइ छ ।
त्यस्तै, वैशाख लागेपछि मात्रै रसुवागढी नाकाबाट १ हजार ३५० युनिट ईभी नेपाल भित्रिएका छन् । तीमध्ये ८०० युनिट गाडी भन्सार जाँचपास गरिसकिएको रसुवागढी भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार ५५० युनिट बढी ईभी भन्सार जाँचपास हुन बाँकी रहको छ । ‘व्यापरीहरूले बजेटलाई लक्षित गर्दै धमाधम गाडी आयात गरिरहेको देखिन्छ । वैशाख लागेपछि आयात ह्वात्तै बढेको छ,’ उनले मेरोअटोसँग भने, ‘वैशाख यता मात्रै ८०० बढी युनिट सवारी जाँचपास भइसके । अहिले दैनिक ३० देखि ४० युनिट भन्सार जाँचपास भइरहेको छ । अझै ५५० युनिट बढी नाकादेखि भन्सार कार्यालयको बाटोमा छन् । ती गाडी जाँचपास हुन बाँकी छ ।’
त्यस्तै, चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपास हुन बाँकी सवारीको संख्या ५५ युनिट रहेको कार्यालयका नासु प्रेम काफ्लेले जानकारी दिए । उनका अनुसार पछिल्लो २ महिनामा भन्सार जाँचपासका लागि ५६ युनिट सवारी आएका र तीमध्ये एउटा मात्रै जाँचपास भएको उनले बताए । चोभार भन्सारमा जाँचपास हुन बाँकी गाडीमा विलिङ, सिट्रोन, प्युजो र एमजी ब्राण्डका छन् ।
चिनियाँ नाकाबाट ईभी आयात ह्वात्तै बढे पनि भारतीय नाकाबाट भने सामान्य रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने सवारी आयात समान्य रहेको बताए । ‘चिनियाँ नाकाबाट सवारी ह्वात्तै बढेको सुनिन्छ,’ उनले मेरोअटोसँग भने, ‘तर, वीरगञ्जबाट नयाँ गाडी आयात सामान्य छ । विगतका महिनाहरूको जस्तै छ ।’
गत वर्ष पनि व्यापारीले बजेट अघिको डेढ महिनामा ५ हजार युनिट सवारी आयात गरेका थिए । चालु आवको चैत मसान्तसम्म ७ हजार ९६७ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ ।