भारतमा टप-५ ईभी बिक्रेतामा दुई चिनियाँ ब्राण्ड

काठमाडौं । भारतमा सर्वाधिक धेरै ईभी बिक्री गर्ने ५ कम्पनी भित्र दुई चिनियाँ ब्राण्ड परेका छन् । जसमा मोरिस ग्यारेज (एमजी) र बीवाइडी दुई ब्राण्ड छन् ।

यी दुई ब्राण्डको अलावा शीर्ष ५ भित्र दुई भारतीय ब्राण्ड टाटा र महिन्द्रासँगै कोरियन ब्राण्ड हुन्डाई पनि परेको छ ।

नेपालमा जस्तो तीव्र गतिमा ईभीको विस्तार हुन नसकिरहेको भारतमा अप्रिल माहिनामा ४ लाख हाराहारी कार बिक्री भएको छ । त्यसमा ईभीको हिस्सा ७ हजार ७८३ युनिट मात्रै छ । जुन कुल बिक्रीको २ प्रतिशतभन्दा कम हो ।

भारतमा अहिले १४ ठूला ब्राण्डले ईभी बिक्री गर्दै आएका छन् । जसमा लिडरको रूपमा टाटा रहेको छ । टाटाको बिक्री अघिल्लो वर्षको अप्रिलको तुलनामा १४ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२४ अप्रिलमा ५ हजार १७२ युनिट ईभी बिक्री गरेको थियो । अहिले घटेर २०२५ अप्रिलमा ४ हजार ४६१ युनिट मात्रै बिक्री भएको देखिन्छ ।

भारतमा ईभी धेरै बिक्री गर्ने ब्राण्डको सूचीमा दोस्रो स्थान एमजीले लिएको छ । एमजीले अघिल्लो वर्षको अप्रिलमा केबल १ हजार २६८ युनिट ईभी बिक्री गरेकोमा यस वर्ष अप्रिलमा १७५ प्रतिशतले बिक्री बढाएर ३ हजार ४८८ युनिट पुर्याएकाे हो ।

ग्रोथको मामलामा महिन्द्रा अझै अगाडि देखिएको छ । गत वर्षको अप्रिलमा ६७० युनिट ईभी बिक्री गरेको महिन्द्राले आफ्नो बिक्री ३४८ प्रतिशतले बढाएर यस वर्ष अप्रिलमा ३ हजार २ युनिट पुर्याएको हो ।

हुन्डाईले ६५४ प्रतिशतको ग्रोथ गरेको छ । कम्पनीले अप्रिल २०२४ मा केबल ९१ युनिट ईभी बिक्री गरेकोमा यस वर्ष अप्रिलमा बढाएर ६८६ युनिट पुर्याएको हो ।

शीर्ष ५ ब्राण्ड भित्र अटाएको अर्को चिनियाँ ब्राण्ड बीवाइडीले अप्रिल २०२५ मा ३५० युनिट ईभी बिक्री गरेको छ । जुन अघिल्लो वर्ष अप्रिलमा बिक्री गरेको १५७ युनिटको तुलनामा १२३ प्रतिशतले बढेको हो ।

यसका अलावा बीएमडब्लूले अप्रिल २०२५ मा १२८ युनिट, मर्सिडिजले ८१ युनिट, सिट्रोनले ४८ युनिट, भोल्भोले ३५ युनिट, कियाले ३१ युनिट, पोर्श्चेले ४ युनिट, अउडीले ३ युनिट र जेएलआरले १ युनिट ईभी बिक्री गरेका छन् ।

भारतमा ठूलो लगानीसहित एमजीमा जिन्दाल समूहको प्रवेशसँगै बिक्रीमा रफ्तार देखिन्छ । खासगरी विन्डसर ईभीको बिक्री सुरू भएसँगै एमजीको ईभी राम्रो संख्यामा बिक्री भएको हो ।


Back_to_top