काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा रुपन्देहीको भैरहवा (बेलहिया)नाका हुँदै २ हजार युनिट बढी विद्युतीय (ईभी) कार आयात भएको छ ।
भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाख (२२ गते)सम्म उक्त संख्यामा ईभी कार आयत भएको हो ।
कुल ४ अर्ब ७४ करोड रुपैयाँ मूल्य बराबरका २०८१ युनिट विद्युतीय कार आयात भएको हो । ती कार आयातबाट सरकारले २ अर्ब १४ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवको चैत मसान्तसम्म नेपालमा कुल ७ हजार ९६७ ईभी आयात भएको छ । जसमध्ये एकचौथाई ईभी भैरहवा नाका हुँदै नेपाल भित्रिएका हुन् ।
भैरहवा नाकाबाट भारतसहित तेस्रो मुलुकबाट आयत हुने ईभी ल्याइन्छ । यस नाकाबाट मुख्य गरी टाटा मोटर्स, हुन्डाई, सिट्रोनले उत्पादन गरेका ईभी नेपाल आएको देखिन्छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटाका ४ मेडलका ईभी बिक्री गर्दै आएको छ । जसमा टियागो, नेक्सन र पन्च ईभी पुरानन मोडल हुन भने कर्भ ईभी हालै मात्रै डेब्यु् गराएको मोडल हो ।
त्यस्तै, लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको क्रेटा ईभी र साँग्रिला मोटर्सले सिट्रोनको सी ३ ईभी बिक्री गरिरहेका छन् ।
भैरहवा नाकाबाट चालु आवमा कुल ३ हजार ५६८ युनिट ( दुई/तीन/चापाँग्रे गरी) विद्युतीय सवारी साधन आयात भएको छ । जसमा तीनपाँग्रे ईभी ६९५ युनिट र दुइपाँग्रे ईभी ७९२ युनिट रहेको छ ।