सिंगल चार्जमा ६३० किमी रेन्ज दिने मिफा-सेभेन नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । हिमालयन मोट्रक्सले मेक्सस ब्राण्डको आधिकारीक बिक्रेताको जिम्मेवारी पाएसँगै लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा-सेभेन नेपाल आएको छ । कम्पनीले नेपाल ल्याएको मिफा-सेभेन प्योर इलेक्ट्री मोडल हो ।

चिनियाँ एसएआइसी ग्रुपको स्वामित्वमा रहेको मेक्सस ब्राण्डका गाडी बेलायती बजारमा निकै सफल मानिन्छन् । मेक्ससकै लग्जरी एमपीभी मिफा-नाइनको सानो भर्सनको रुपमा मिफा-सेभेन आएको हो ।

निकै फराकिलो क्याबिन भएको मिफा-सेभेन कम्फर्ट र लग्जरीको लागि एक नमूना मान्न सकिन्छ । गाडीमा चालक सहित ७ जनाले आरामदायी यात्रा गर्न सक्छन् । यसको ‘सेकेण्ड रो’मा क्याप्टेन सिट दिइएको छ ।

मिफा-सेभेनमा ठूलो साइजको पानारोमिक सनरुफ दिइएको छ । दुवै साइडमा इलेक्ट्रीक पावर स्लाइडिङ डोर रहेको एमपीभीको ४५ स्थानमा ‘स्टोरेज स्पेश’ पाउन सकिन्छ । फ्ल्याट फ्लोर डिजाइन भएको मिफा-सेभेनमा ‘थर्ड रो’को सिटको लागि पनि यथेस्ट स्पेश रहेको छ ।

एमपीभीलाई फिचर लाडेड बनाउन लेदरेट सिट कभर, भेन्टीलेटेड तथा मेमोरी फङ्सन सहितको इलेक्ट्रीक ड्राइभर सिट, ८ वटा जेबीएलको प्रिमियम साउण्ड सिस्टम दिइएको छ । साथै, १२.३ इन्चको ड्यूल इन्फोटेन्मेन्ट स्क्रीन र इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस एप्पल कारप्ले तथा एन्डरोइड अटो पाउन सकिन्छ ।

यात्रुको सहजताको लागि वायरलेस फोन चार्जर, एयर प्युरिफायर जस्ता फिचर समाबेस भएको मिफा-सेभेन सुरक्षामा अब्बल छ । कम्पनीले यसमा एडास सहितको ३६० डिग्री क्यामेरा, रियर क्रस ट्राफिक अलर्ट, फर्वाड कोलुजन अभोयडेन्स असिस्ट, लेन किप असिस्ट, अडाप्टिभ क्रुज कन्ट्रोल दिएको छ ।

मिफा-सेभेनमा ९० किलोवाट आवरको हाइ इनर्जी डेन्सिट ब्याट्री दिएको छ । सहरी क्षेत्रमा यसको डब्लूएलटीपी रेन्ज ६३० किलोमिटर रहेको छ । यसमा १८० किलोवाटको फ्रन्ट माउण्टेड इलेक्ट्रीक मोटर छ ।

नेपाली बजारमा यसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेर बिक्री सुरू हुन लागेको हो ।


Back_to_top