काठमाडौं । टाटा मोटर्सले भोलिदेखि सुरू हुने भारत मोबिलिटी एक्स्पोमा नयाँ इलेक्ट्रीक भेहिकल, ग्रिन फ्युल टेक्नलोजी र केही आइस भेहिकलको फेसलिफ्ट मोडल देखाउने भएको छ ।
टाटाले ह्यारीयर (नेपालमा एच५) को इलेक्ट्रीक भर्सनको प्रडक्सन मोडल देखाउने छ । टाटाको फ्ल्यागशिप इलेक्ट्रीक एसयूभी छिटै लन्च हुँदैछ ।
टाटाले ह्यारियर ईभीमा क्लोजअफ ग्रील, नयाँ एरोडायनामिक्स ह्वीलका साथै नयाँ ईभी स्पेसिफिक कलर समेत ल्याउने भएको छ । ह्यारियर ईभीमा ड्युल मोटर सेटअप सहितको अप्सनल अलह्वील ड्राइभको साथमा रियर इन्डिपेन्डेन्ट सस्पेन्सन समेत दिएको छ ।
ह्यारियर ईभीमा ६० देखि ८० किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । यसको रेन्ज ५०० किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।
टाटाले दोस्रो ईभी सियराको कन्सेप्ट डिजाइन पहिलेको अटो शोमा समेत देखाएको थियो । यो अटो शोमा सियरा ईभीको क्लोज टु प्रडक्सन भर्सन देखाउने छ । सियरा ईभी ९० को दशकमा बिक्री भएको टाटाको एसयूभीबाट प्रभावित मोडल हो । यसमा टाटा ह्यारियर ईभीकै पावरट्रेन र ब्याट्रीप्याक अप्सन रहनेछ ।
सन् २०२२ मा पहिलो पटक देखाएको टाटाको नयाँ फ्युचरिस्टिक इलेक्ट्रीक कार कार अभिन्या कन्सेप्ट हो । टाटाले यस पटकको अटो शोमा अभिन्याको थप विस्तारित रूप देखाउने छ । टाटाको नयाँ बर्न इलेक्ट्रीक प्ल्याटफर्ममा बनेको अभिन्या कार मोडल मात्र नभईकन ईभी ब्राण्डकै रूपमा आउने कम्पनीले यसअघि नै घोषणा गरिसकेको छ ।
टाटा मोटर्सले यो अटोशोमा अहिले बिक्री भइरहेका एसयूभी र ह्याचब्याकको स्पेशल एडिसन वा फेसलिफ्ट मोडल समेत देखाउने छ । यसमा अल्ट्रोज रेसर डार्क एडिसन, कर्भ डार्क एडिसन, कर्भ ईभी डार्क एडिसन, फेसलिफ्ट टियागो ईभी आदि रहने छ ।