एटो थ्री र जेडएस ईभीलाई टक्कर दिने टाटा ‘सियरा’

काठमाडौं । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक देखिएको टाटाले आफ्नो आइकोनिक ब्राण्ड नेम ‘सियरा’मा नयाँ लाइफ स्टाइल ईभी बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ सियरा ईभी बीवाइडी एटो थ्री, हुन्डाई कोना र एमजी जेडएस ईभीलाई टक्कर दिने गरी बजारमा ल्याउन लागेको हो ।

टाटाले यसको डिजाइन निकै फ्यूचरष्टीक बनाएको छ भने निकै बक्सी लुक्स प्रदान गरेको छ । यसको डिटेल पनि इन्टरनेट मार्फत सार्वजनिक भइसकेको छ । कम्पनीले यसको कन्सेप्ट ११ महिना अगाडि भारतको नोयडामा भएको अटो एक्स्पो २०२३ मा पनि देखाएको थियो ।

सन् २०२५ बाट बिक्री सुरु गर्ने योजनाको साथ टाटाले यसको सबै किसिमिको ट्रेडमार्क र प्याटेन्ट राइट दर्ता गरिसकेको छ । कम्पनीले सुरुमा यसलाई ईभी र त्यसपछि पेट्रोलियम पदार्थबाट चल्नेगरी बजारमा ल्याउने अनुमान गरिएको छ ।

सम्पूर्ण लाइटहरु एलइडी रहने सियरा मोडलको बी पिल्लरदेखि छतसम्म सिसाको प्रयोग हुनेछ । स्टाइलिस ह्वील, हिडन डोर ह्याण्डल, ईभीबाट प्रेरित फ्रन्ट फेसिया सियराको बलियो पक्ष हुने अनुमान गरिएको छ ।

टाटा मोटर्सले यसमा प्रयोग हुने ब्याट्री साइज, मोटर, रेन्ज लगायतका विषयमा भने कुनै जानकारी बाहिर ल्याएको छैन । तर, टाटाले अव आउने ईभीको रेन्ज ५०० किलोमिटर माथि हुने यसअघि नै बताएको छ ।


Back_to_top