महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी अपग्रेड भएर नेपाल आउने

काठमाडौं । महिन्द्राले भारतीय बजारमा बिक्री गर्दै आएको पहिलो इलेक्ट्री एसयूभी ‘एक्सयूभी–४००’ अपग्रेड हुने भएको छ । सन् २०२४ को पहिलो क्वाटरमा नेपाल ल्याउने तयारी चलिरहेको एक्सयूभी ४०० मा थुप्रै फिचर अपग्रेड हुन लागेको हो ।

सन् २०२४ को मोडलको रुपमा आउने एक्सयूभी ४०० कम्पनीको एक्सयूभी ३०० एसयूभीको प्लेटफर्ममा तयार पारेको इलेक्ट्रीक एसयूभी हो ।

कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याएको एक्सयूभी ४०० मा देखिनेगरी हुन लागेको अपग्रेड इन्फोटेन्टमेन्ट सिस्टम हो । पुरानो डिजाइनको ७ इन्च इन्फोटेन्मेन्ट स्कृनको सट्टामा १०.२५ इन्चको टच स्कृन दिएको हो ।

उक्त इन्फोटेन्टमेन्ट सिस्टमसँग वायलेस एप्पल कार प्ले, एन्ड्ररोइड अटो लगायतका सुविधा हुनेछ । आगामी जनवरीबाट उत्पादन हुने एक्सयूभी ४०० मा यी फिचरहरु थपिने भएको हो ।

फिचरमा कमीका कारण भारतीय बजारमा एक्सयूभी ४०० को बिक्री प्रति महिना ५०० को हाराहारीमा मात्रै छ । जवकी सिधा प्रतिस्पर्धा रहेको टाटा नेक्सन ईभी गत १२ महिनामा मासिक १ हजार ८ सय यूनिट हाराहारीको दरले बिक्री हुँदै आएको छ ।

भारतीय बजारमा महिन्द्रा एक्सयूभी ४०० इसी र इएल गरी दुई भेरियन्टमा बिक्री भइरहेको छ । यसको इसी भेरियन्टमा ३४.५ किलोवाट आवरको ब्याट्री प्याक छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३७५ किलोमिटरसम्म रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।

अर्को, लङ रेन्ज भेरियन्ट इएलमा भने ३९.४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । उक्त भेरियन्टले ४५६ किलोमिटरको रेन्ज दिने बताइन्छ ।


Back_to_top