जनवरीमा आधा दर्जन नयाँ मोडल ल्याउँदै टाटा

काठमाडौं । टाटा मोटर्सले जनवरी १७ तारिखबाट भारतको नयाँ दिल्लीमा सुरु हुने भारत मोविलिटी एक्स्पो २०२५ मा आधा दर्जन बढी कार प्रदर्शनी गर्ने भएको छ । कम्पनीले आफ्नो अहिले चलिरहेका मोडलको अपग्रेड र ईभी गरेर ७ नयाँ मोडल प्रदर्शनी गर्ने तयारी थालेको हो ।

आफ्नो पेट्रोल कारलाई ईभीमा परिमार्जन गरेर विद्युतीय कार बजारमा बलियो बनेको टाटाले सिरिया मोडल सार्वजनिक गर्दैछ । टाटा सिरिया इलेक्ट्रीक र इन्टरनल कम्बस्चन इन्जिनमा उपलब्ध हुनेछ ।

टाटाले अटो एक्स्पो २०२३ मै देखाएको सिरिया कन्सेप्टलाई अब प्रोडक्सन मोडलको रुपमा बजारमा ल्याउन लागेको हो । सिरिया ईभीमा ६० देखि ८० किलोवाट आवरको ब्याट्री प्याक रहने बताइन्छ । कम्तीमा ५०० किलोमिटर रेन्ज दिनेगरी आउन लागेको ईभी टाटाको लाइनअपमा बलियो मोडल बन्ने अपेक्षा गर्न सकिन्छ ।

सिरिया एसयूभीलाई १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ ।

अघिल्लो अटो एक्स्पो २०२३ मा देखाएको ह्यारीयर ईभी पनि यस वर्ष तयारी अवस्थामा सार्वजनिक हुनेछ । भारतको विभिन्न भागमा परीक्षणको क्रममा देखिएको ह्यारीयर ईभीको टेक्नीकल डिटेल अहिलेसम्म बाहिर आएको छैन । सिंगल र ड्यूल मोटर सेटअपमा आउने ह्यारीयरको रेन्ज ४५० देखि ५५० किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।

कम्पनीले ह्यारीयरको पेट्रोल मोडल पनि अपग्रेड सहित भारत मोविलिटी एक्स्पो मार्फत सार्वजनिक गर्नेछ ।

टाटा मोटर्सले आफ्नो सबैभन्दा ठूलो एसयूभी सफारीलाई पनि इलेक्ट्रीक भर्सनमा देखाउने अनुमान गरिएको छ । यसअघि विभिन्न समयमा परीक्षणको क्रममा देखिएको सफारी ६ र ७ सिट अप्सनमा उपलब्ध हुने इलेक्ट्रीक एसयूभी हो ।

टाटाको सफल माइक्रो एसयूभी पन्च पनि अटो शोमा अपग्रेड सहित सार्वजनिक हुनेछ । इलेक्ट्री मोडलकै जस्तो डिजाइन र लुक्समा आउने अनुमान गरिएको पन्च फेसलिफ्टमा अहिलेकै १.२ लिटर पेट्रोल इन्जिनले निरन्तरता पाउने छ ।

त्यसैगरी अहिले टाटाले बिक्री गर्दै आएको ह्याचव्याक कार टियागो र सेडान कार टिगोरको फेसलिफ्ट मोडल पनि भारत मोविलिटी एक्स्पोमा सार्वजनिक हुने अनुमान गरिएको छ । टिगोर र टियागो दुबै मोडलको पेट्रोल र ईभी अपग्रेड भएर आउन लागेको हो ।


Back_to_top