काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल हुने भएको छ । सन् २०२५ को सम्भवतः संसारकै पहिलो मोटर स्पोट्र्सको रुपमा उक्त कार्यक्रम आगामी २०२५ जनवरी ४ का दिन हुने भएको हो ।
नासा नेपालको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने सो फेस्टिभल अन्तर्गत अटोक्रस कम्पिटिसन, अटो जिमखाना, कार्टिङ कप, क्वाड बाइक च्यालेन्ज र स्टन्ट शो गरी ५ क्याटागोरीमा प्रतियोगिता हुनेछ ।
नेपालमै पहिलो पटक हुने क्वाड बाइक च्यालेन्जमा क्वाड बाइकको कम्पिटिसन सम्बन्धी नीति र नियम (रुल र गाइडलाइन) समेत सार्वजनिक गरिने छ । स्टन्ट शो अन्तर्गत संघले घोषणा गरेको कार्ययोजना स्टन्ट ब्याटलको घोषणा गरिने र कार्यविधि सार्वजनिक गरिने छ ।
त्यसैगरी अटोक्रस नेपालमै मोडिफाई गरिएको क्रसकारको कम्प्लिट रेसिङ हो, जसमा नासा नेपालका नेसनल लाइसेन्स प्राप्त ड्राइभरहरुले पहिलो पटक भाग लिने छन् ।
अटो जिमखानाका दुई जना विजेतालाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर प्रदान गरिने छ । अटो जिमखाना, क्रसकार र काट्र्स गरी तीन खेलका विजेताहरुले क्रमशः २७ हजार, ९ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँकी दुई इभेन्टका विजेताले अवार्ड र सर्टिफिकेट पाउने छन् ।
झन्डै १० वर्ष अगाडिदेखि शुरु भएको हिमालयन मोटरल्यान्डमा सो इभेन्ट हुनेछ र सम्भवतः पूर्व सहमति बमोजिम नासा नेपालले गर्ने यो अन्तिम इभेन्ट हुनेछ । संघले यसअघि नै हेटौडाको गौरीटार, सुर्खेत स्टेडियम क्षेत्र, चितवन, पोखरा र काठमाडौं उपत्यका भित्रै आफूलाई केन्द्रित गर्ने बताइसकेको छ ।
अटो जिमखाना र क्रसकारका सहभागीहरु नेसनल ड्राइभिङ लाइसेन्स प्राप्त, अटोक्रस तालिम प्राप्त, राष्ट्रिय अन्तर्राष्ट्रिय इभेन्टका सहभागी तथा विजेताहरु नै संलग्न हुनेछन् । सहभागीहरुले ५ मध्ये कुनै २ इभेन्टमा प्रतिस्पर्धा गर्न सक्ने छन्, जसको दर्ता शुल्क तीन हजार रुपैयाँ हुनेछ भने प्रति इभेन्टको दुई हजार मात्र हुनेछ ।
अटोक्रसमा १० जना तथा अटो जिमखानामा बढीमा २० जनाले मात्र सहभागिताको अवसर प्राप्त गर्नेछन् ।