हरेक दिन दुई युनिट सी-१० बेचिरहेका छौं : हेमन्त गोल्छा

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्डको प्रभाव बढ्दै जाँदा युरोपियन कारको आधिकारिक बिक्रेता भएर काम गर्दै आएको साँग्रिला मोटर्सले पनि लीपमोटरको उत्पादन नेपालमा बिक्री गर्ने आधिकारीक बिक्रेता पायो । साउनको अन्तिमसाता डिलर नियुक्त भएको साँग्रिला मोटर्सले नाडा अटो शो २०२४ मा सहभागी हुँदै सी-१० एसयूभी लन्च गरेको थियो ।

नाडा अटो शोमा १०० युनिट माथि बुकिङ भएको दाबी कम्पनीले गरेको थियो । दशैंको आसपास गाडी डेलिभरी दिने योजनासहित बुकिङ लिएको गाडी समयमै डेलिभरी हुन सकेन । असोज दोस्रो साता परेको भीषण वर्षाले चीन र नेपाल दुवैतर्फ बाटो बिग्रँदा तिहारपछि मात्रै गाडी आयात हुन सकेको थियो ।

कम्पनीले हिजो काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै १०० युनिट सी-१० ग्राहकलाई दिएको जानकारी दियो । नयाँ वर्षको पूर्व सन्ध्यामा भएको कार्यक्रममा साँग्रिला मोटर्सको प्रबन्ध निर्देशक हेमन्त गोल्छालाई हाम्रो प्रश्न थियो, युरोपियन गाडी त निकै स्लो थियो । चिनियाँ सी-१० त तीव्र गतिमा बेच्नु भएछ नि ?

युरोपीय गाडी महंगो थियो । एकदेखि डेढ करोड पर्ने गाडी बिक्री गर्न कहाँ सजिलो छ र । तर, लीपमोटरको सी-१० एसयूभी मूल्यको हिसाबले राम्रो, गाडी साइजको हिसाबले ठूलो र पावरका हिसाबले उत्कृष्ट भएको कारण हामीले ४५ दिनमा १०० युनिट बिक्री गर्न सफल भयौं ।

डेलिभरी ४५ दिनमा भएको हो । तर, बुकिङ त भदौदेखि कै थियो । बिक्री भने मिड नोभेम्बरबाट सुरू गरेका थियौं । यसरी हेर्दा दिनमा औषत दुईभन्दा बढी गाडी बिक्री भएका छन् । अर्को युरोपियन गाडी बेच्न सकेका थिएनौं भन्ने होइन । हामी २०० युनिट बढी प्यूजोका कार बिक्री गरेका छौं । सिट्रोन पनि तपाईंले बाक्लो संख्यामा बजारमा देख्नुहुन्छ ।

प्यूजो र सिट्रोनकै माउ कम्पनी स्टेलान्टीसले लीपमोटरमा लगानी गरेर र अन्तर्राष्ट्रिय बजारमा वितरण सुरू गरेसँगै हामीले यसको आधिकारिक बिक्रेता पाएका हौं । अहिले पनि चीनमा लीपमोटरको थुप्रै मोडल बिक्रीको लागि उपलब्ध छ । चीन बाहिर केबल दुई मोडल उपलब्ध छ । एउटा सी-१० र अर्को टी-०३ हो । हामीले अहिले ठूलो गाडी सी-१० मात्रै बिक्री गर्दै आएका छौं । चाँडै टी-०३ बिक्री सुरू गर्दैछौं ।

हामीले हिजो सी-१० पनि ५ हजार किलोमिटर टेष्टपछि बिक्री थालेका थियौं । अहिले पनि हाम्रो लक्ष्य ५ हजार किलोमिटर चलाएपछि मात्रै टी-०३ बिक्री सुरू गर्ने भन्ने हो । हामी आफू कन्फिडेन्ट नभइकन गाडी नबेच्ने भन्ने योजनामा छौं ।

दैनिक दुई युनिटभन्दा बढीको औसत कसरी सम्भव भयो ?

चिनियाँ उत्पादनको एसेप्टेन्स बढी रहेको समयमा आएको गाडीले धेरैको ध्यान खिच्यो । अझ युरोपियन ब्राण्ड जोडिएको कारण पनि हामीलाई सहज भयो । हामीसँग नेटवर्क र सर्भिस सेटअप पहिल्यै थियो । त्यसैबाट लीपमोटरको सेवा दिने भएको कारण थप सजिलो भयो भन्ने लाग्छ ।

सर्भिस र चार्जिङ नेटवर्क विस्तारमा के गर्दै हुनुहुन्छ ?

हामीसँग अहिल्यै देशका सबै सहरमा सेल्ससँगै सर्भिस नेटवर्क पनि छ । हाम्रा पर्टनरहरूले सर्भिसलाई अपग्रेड गरिसक्नुभएको छ । तपाईंले सिट्रोन र प्यूजोको सर्भिस उपलब्ध कुनै पनि स्थानमा सहजै लीपमोटरको सर्भिस पाउनु हुनेछ ।

जहाँसम्म चार्जिङ नेटवर्कको कुरा छ हामीले पायोनियर मोटोकर्पसँग मिलेर देशका विभिन्न १०० स्थानमा डीसी फास्ट चार्जर जडान गर्दैछौं । आगामी १ वर्ष भित्र सबै स्थानमा चार्जर जडान हुनेछ । अहिले पनि केही स्थानमा बनाइरहेका छौं, केही स्थानमा संचालनमा छन् । हामी ग्राहकलाई दिनुपर्ने कुनै पनि सेवा र सुविधामा सम्झौता गर्दैनौं ।

अहिले चिनियाँ गाडीको बिक्री राम्रो छ । तर, केही उपभोक्ता सर्भिस लगायतका कुरामा सशंकित भएको पाउँछौं । तपाईं के भन्न चाहनुहुन्छ ?

चिनियाँ उत्पादनको गुणस्तार धेरै माथि पुगेको छ । पक्कै सर्भिसमा केही कमजोरी उपभोक्ताले देख्नुभएको हो । अहिले बजारमा धेरै ब्राण्ड छन्, त्यसले पनि आशंका उत्पन्न गराएको होला । तर, हाम्रोसँगै अन्य सात/आठवटा ठूला ब्राण्डका उत्पादन अहिले बजारमा छन् । जसले सहज सर्भिस सेवा उपलब्ध गराउन सक्छन् ।


Back_to_top