ईभीमा टाटा र एमजीको प्रतिस्पर्धामा राजस्व बाधक, एउटै ‘पेश’मा हुन्डाई

काठमाडौं । नेपालमा विद्युतीय कारको बजार विगत ५ वर्षमा ३ थरी कानुनी प्रावधानले थिचियो । कहिले कर वृद्धि, कहिले अन्तःशुल्क लगाउने घोषणा त कहिले अन्तःशुल्क खारेजीले बजारलाई निकै अस्थिर बनायो ।

सरकारी नीतिकै कारण केहीले २ वर्ष अगाडि किनेको मूल्यभन्दा अहिले सस्तोमा गाडी पाउन सकिने अवस्था छ भने केही मोडल दुई महिना अघिको तुलनामा २० लाखभन्दा धेरै रकम तिर्नु पर्ने अवस्था सृजित भएको छ । यी सबै काम अदुरदर्शी सरकारी नीतिको कारण भएको हो ।

सरकारले चलाउने नीतिको कारण बजारमा हिस्सेदारीको फाइदा चाहिँ फरक फरक ब्राण्डले पाउँदै आएका छन् । सरकारले यसअघि ५० किलोवाटदेखि २०० किलोवाटसम्मका गाडीमा एउटै भन्सार कामय गरेको र अन्तःशुल्क पूर्णरुपमा खारेज गरेको कारण बजारमा उपलब्ध एमजी र हुन्डाई ब्राण्डका गाडीमा प्रतिस्पर्धा थियो । त्यसमा हुन्डाईलाई उछिन्दै एमजी अगाडि थियो । तर, माघदेखि एमजीले नेपाल गाडी ल्याउन सकेन र जेठमा एमजीले विक्री गर्ने जेडएस ईभीको भन्सार र अन्तःशुल्क दुबैमा भारी वृद्धि हुँदा आयात ठप्प भएको छ ।

एमजीको आयात ठप्प हुँदा टाटाको विक्रीमा नयाँ रेकर्ड बन्न थालेको छ । टाटा नेक्सन ईभी बुकिङ गरेर बस्ने ग्राहक नै १ हजार २०० माथि रहेको सिप्रदी ट्रेडिङले जनाएको छ । त्यसको ठिक उल्टो करिब ५०० यूनिट बुकिङ रहेको एमजी जेडएस ईभीको बुकिङकर्ताले बुकिङ वापत तिरेको रकम फिर्ता लिन सुरु गरेका छन् ।

यी दुई बीचको भिडन्तमा सरकारी नीतिको फाइदा टाटाले पायो भने एमजी सिथिल बन्यो । तर, ईभीको प्रतिस्पर्धामा सदावहार खेलाडी ब्राण्ड हुन्डाईको भने उपस्थितिमा फरक पाउनै मुस्कील छ । हुन्डाईले पहिलेको जस्तै समान गति (पेस)मा गाडी विक्री गर्दै आएको छ । हुन्डाईलाई भने चिनियाँ ब्राण्ड बीवाइडीले पच्छाई रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै इलेक्ट्रीक कार टाटाले विक्री गरेको छ । एक वर्षको अवधिमा टाटाले ६९६ यूनिट इलेक्ट्रीक कार आयात गरेर विक्री गरेको हो भने दोस्रो स्थानमा रहेको एमजीले ६०२ यूनिट आयात गरेको भन्सार तथ्यांकबाट देखिन्छ । तेस्रो र चौथो स्थानमा हुन्डाई र बीवाइडी रहेका छन् ।


Back_to_top