काठमाडौं । अमेरिकी इलेक्ट्रीक ब्राण्ड टेस्लाको युरोपमा साख गिर्दै गएको छ । निरन्तर बिक्रीमा आएको गिरावटसँगै युरोपियन बजार टेस्लाको लागि चुनौतीपूर्ण बन्दै गएको हो ।
सन् २०२३ को नोभेम्बरसम्ममा २ लाख ४९ हजार युनिट टेस्ला कार बिक्री भएको युरोपमा चालु वर्षको नोभेम्बरसम्ममा २ लाख ११ हजार युनिट मात्रै बिक्री भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.२ प्रतिशतको गिरावट हो ।
नोभेम्बर महिनाको मात्रै कुरा गर्ने हो भने टेस्लाले २८.४ प्रतिशतले बजार गुमाएको छ । २०२३ नोभेम्बरमा ३६ हजार ५६३ युनिट कार बेचेको टेस्लाले गत नोभेम्बरमा २६ हजार १९१ युनिट मात्रै बिक्री गर्न सक्यो । युरोपियन युनियन बाहेक युनाइटेड किङडममा पनि टेस्लाले बजार गुमाएको हो ।
युरोपमा टेस्लाको बजार हिस्सा घट्नुमा कम्पनीका सीईओ इलन मस्कको ‘एटिट्यूड’, युरोपमा घटेको अनुदान र युरोपमा नयाँ ईभीको बिक्रीमा देखिएको कमी लगायत कारण रहेको रिपोर्टहरूले उल्लेख गरेका छन् । साथै, धेरै करका बाबजूद पनि चिनियाँ मोडलहरू सस्तो हुँदा टेस्लाले बजार गुमाएको देखिन्छ ।

