टेस्लाले चीनमा बनायो १० लाख कार

काठमाडौं । अमेरिकी लग्जरी कार उत्पादक कम्पनी टेस्लाले चीनमा रहेको गिगा सांघाई प्लान्टबाट उत्पादन गरेको कारको संख्या १० लाख पुगेको छ । टेस्लाले सन् २०१९ को जनवरी ७ बाट साघाई प्लान्ट निर्माणको काम सुरु गरेको थियो ।

सन् २०१९ कै डिसेम्बरबाट उत्पादन सुरु भएको यो प्लान्टले १० लाख यूनिट कार उत्पादनको अाँकडा भेट्टाएको हो । सुरुमा टेस्ला मोडल थ्री मात्रै उत्पादन गरेको प्लान्टमा त्यसपछि मोडल वाईको पनि उत्पादन सुरु गरेको थियो ।

अमेरिकाको क्यालिफोर्नीयामा रहेको टेस्ला प्लान्टबाट गत जुलाईमा २० लाख कार उत्पादन भएको खुसियाली कम्पनीले मनाएको थियो । टेस्लाको कुल उत्पादनमा पहिलो १० लाख सन् २०२० को पहिलो क्वाटरमा पुगेको थियो भने २० लाख यूनिट पुग्न २०२१ को तेस्रो क्वाटर लागेको थियो ।

सांघाईमा रहेको टेस्लाको प्लान्ट विश्वको सवैभन्दा ठूलो ईभी फ्याक्ट्री हो । उक्त प्लान्टबाट वार्षिक रुपमा ७ लाख ५० हजार यूनिटसम्म कार उत्पादन हुन सक्छ । टेस्लाको सबै प्लान्टको कुल उत्पादन क्षमता १९ लाख रहेको छ । यो आधारमा आगामी वर्षको यहि समयमा टेस्लाको कार उत्पादन ५० लाख यूनिट नाघ्ने अनुमान गर्न सकिन्छ ।

हाल टेस्लाले अमेरिकाको क्यालीफोर्नीया र टेक्सास तथा चीनको सांघाई र जर्मनीको बर्लीनमा गरी ४ वटा प्लान्ट संचालन गरिरहेको छ । कम्पनीले निकट भविष्यमा नै क्यानडामा समेत प्लान्ट लगाउने योजना बनाएको छ ।


Back_to_top