काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले सन् २०२३ को पहिलो त्रैमासमा ४ लाख बढी ईभी डेलिभरी दिँदै रेकर्ड बनाएको छ । यो टेस्लाले हालसम्म कुनै पनि त्रैमासमा गरेको सर्वाधिक डेलिभरी हो ।
आइतबार एक रिपोर्ट सार्वजनिक गर्दै कम्पनीले विश्वबजारमा यस वर्षको पहिलो त्रैमासिकमा ४ लाख २२ हजार ८७५ यूनिट सवारी डेलिभरी गरेको हो ।
अघिल्लो वर्ष टेस्लाले ३ लाख १० हजार ४८ यूनिट कार डेलिभरी दिएको उल्लेख गरेको छ । अघिल्लो वर्षको तुलनामा टेस्लाको विक्री ३६।३९ प्रतिशतले बढी हो ।
टेस्लाले यो वर्षको पहिलो त्रैमासिकमा विश्वभर ४ लाख १२ हजार १८० यूनिट मोडल ३ र मोडेल वाई डेलिभर गरेको छ । त्यस्तै, मोडेल एस र मोडेल एक्स भने कुल १० हजार ६९५ युनिट डेलिभर गरेको जनाएको हो ।
यसैबीच, कम्पनीले यो समयावधिमा कुल ४ लाख ४० हजार ८०८ यूनिट सवारी उत्पादन गरेको छ। जसअन्तर्गत, ४ लाख २१ हजार ३७१ यूनिट मोडल थ्री र मोडल वाई तथा १९ हजार ४३७ यूनिट मोडल एस र मोडल एक्स रहेका छन् ।
चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार टेस्लाले चीनमा मात्र जनवरीमा २६ हजार ८४३ र फेब्रुअरीमा ३३ हजार ९२३ यूनिट सवारी डेलिभरी गरेको छ । यससँगै चीनको संघाई प्लान्टबाट भने जनवरीमा ३९ हजार २०८ यूनिट र फेब्रुअरीमा ४० हजार ४७९ यूनिट सवारी निर्यात गरेको हो ।


