यी ३ कारण निजी गाडी बिक्री हुनै छाडे

काठमाडौं । जाडो गयो, गर्मीको महशुस हुन थाल्यो । तर, जाडोले सेलाएको अटोमोवाइलको व्यापारमा गर्मीले तताउने संकेत कतै देखिदैन । सरकारी तवरबाट अर्थमन्त्रीले नाडाका पदाधिकारीसँगको भेटमा केही दिनभित्र देखिनेगरी अटो क्षेत्रमा सुधार आउने बताएका थिए । तर, त्यसको ठिक उल्टो अवस्था अझै दयनिय बन्दै गएको अटोमोवाइल व्यवसायीहरुले बताउन थालेका छन् ।

अटोमोबाइल क्षेत्र सूस्त हुनुको पछाडि तीन मुख्य कारणले काम गरेको बुझन कठिन छैन । तर, ति तिनवटै कारणको पछाडि सरकारले बनाएका नीति नियम जिम्मेवार रहेका छन् ।

१. गाडीमा कर्जाको सिमा घटाउने

सरकारले निजी सवारीसाधनमा जाने कर्जामा कडाई सुरु गरेको करिब १८ महिनाभन्दा बढी समय भइसकेको छ । यसअघिको ६५ प्रतिशतसम्म अटो लोन दिन पाउने व्यवस्थालाई कडाई गर्दै ५० प्रतिशतमा झारेसँगै अटोमोवाइलको व्यापारमा व्यापक गिरावट सुरु भएको हो ।

त्यसमा पनि इन्ट्री लेवलको गाडी बिक्रीमा व्यापक गिरावट आएको तथ्यांकले देखाएको छ । ट्याक्सीमा प्रयोग हुने गाडी छाड्ने हो भने निजी प्रयोजनमा प्रयोग हुने २५ लाखभन्दा कम मूल्यको गाडीको बिक्रीमा सबैभन्दा बढी गिरावट आएको छ । यसअघि करिब ३० प्रतिशत इन्ट्री लेवलका कारहरुको बिक्री हुने गरेकोमा अहिले त्यसको बिक्री निकै कम मात्र रहेको छ ।

यदि सरकारले यसको सिमा बढाएर ६५ प्रतिशत पुर्याउने हो भने केही बिक्री बढ्न सक्ने देखिएको छ ।

२. गाडी कर्जा लिदा अनावश्यक झन्झट

सुरुदेखि नै बैंकमा बुझाउनु पर्ने कागज पत्र तयार गर्नु गाडी किन्ने मानिसको लागि झन्झटिलो काम थियो । विशेषत घरजग्गा कारोबार गर्ने कारोबारीले आफ्नो कारोबार फस्टाएसँगै गाडी किन्ने गरेका थिए ।

नेपाल राष्ट्र बैंकले केही महिना अघिदेखि घर तथा गाडी किन्न कर्जा लिने ग्राहकले आफ्नो आम्दानीमा कर तिरेको प्रमाणित हुने कागजात पेश गर्नु पर्ने र उसको मासिक कमाइको ५० प्रतिशतभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था गरेसँगै गाडीको बिक्रीमा गिरावट आएको हो । तर, यसलाई नै सरकारले गरेको अपरिपक्व निर्णय भने मान्न सकिदैन ।

३. गाडी किन्नु सामाजिक अपराध जस्तो व्यवहार

अर्थमन्त्रीमा डा. यूवराज खतिवडा नियुक्त भएसँगै उनले ऋण लिएर सवारीसाधन नकिन्न अनुरोध गरेका थिए । त्यसपछि सरकारले गाडी किन्नु भनेको निकै ठूलो सामाजिक अपराध जस्तो व्यवहार गरेको प्रस्ट देखिन्छ । त्यसो त सरकारले पछिल्ला दिनमा महंगा गाडी किन्ने ग्राहकको नामावली मागिरहेको हल्लाले पनि अटोबजार गिरावट आइरहेको छ । यसलाई सरकारले सुधार गर्न सक्नु पर्छ । यस्ता हल्लाको कारण सहित जनमानसमा आस्वस्थ हुने अवस्था सृजना गर्नु पर्छ ।

निष्कर्ष

अटोबजार अहिलेको अवस्थामै रहने हो भने यो क्षेत्रले सृजना गरेको रोजगारी गुम्ने पक्का जस्तै भइसकेको छ । गाडी बिक्रेता कम्पनीले शोरुम बन्द गर्ने अवस्था आएको छ भने केही शोरुमहरु बन्द भइसकेका छन् ।

अधिकांश कम्पनीले पछिल्ला २ वर्षमा नयाँ दरबन्दी सृजना गरेर एक जनापनि नयाँ जनशक्तिलाई काम दिएको छैन । अर्कोतर्फ सरकारी दबाबमा व्यापारीले भन्सार छुटाएर ल्याएको गाडी बिक्री गर्न नसकेर समस्यामा परेको देखिन्छ । त्यसैले सरकारले यो क्षेत्रको आवस्यकता बुझेर काम गर्नुु पर्ने देखिन्छ ।


Back_to_top