काठमाडौं । विद्युतीय सवारी साधनको बिक्रीमा आएको उछालसँगै साना र उत्कृष्ट मोडलहरूको बिक्री विस्तार भएको छ । फ्यामली ह्याचब्याक कारको बजारमा अलगै पहिचान बनाएको टियागो ईभीले २ हजार ५८ युनिट आयात पूरा गरेको हो ।
भारतीय कम्पनी टाटाले आफ्नो चल्तीको ह्याचब्याक कारलाई ईभीमा ल्याएसँगै यसको बिक्रीमा उछाल आएको थियो । साना गाडीको बिक्री नै निकै खराब अवस्थामा पुगेको समयमा टाटा टियागो ह्याचब्याकले २ हजार युनिट पूरा गरेर रेकर्ड बनाएको हो ।
साना कारको बजारमा अन्य ब्राण्डको आँखा नपरोको होइन । तर, उनीहरूले ल्याएको प्रोडक्टमा उपभोक्ता विश्वस्त हुन सकेनन् । त्यसको फाइदा टियागोले पायो । विक्रम सम्वत् २०८० साल भदौमा पहिलोपटक नेपाल आएको टियागो ईभीले २० महिनाको अवधिमा २ हजार युनिट आयात पूरा गरेर रेकर्ड बनाएको हो ।
आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सुरूवाती दिनमा ठूलो परिमाणमा टियागो ईभी ल्यायो । कम्पनीले २०८० भदौदेखि २०८१ जेठ महिनासम्ममा नै १ हजार ७४७ युनिट टियागो ईभी ल्याएको थियो । सुरूवाती १० महिनामा ठूलो परिमाणमा आयात भएको टियागो त्यसपछि भने केही ‘स्लो’ भयो ।
जेठपछि कम्पनीले असार, साउन र भदौ महिनामा टियागो ईभी आयात गरेन । एकैपटक दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षीत गरेर टियागो ईभी आयात भयो । कम्पनीले असोजदेखि चैत मसान्तसम्ममा थप ३११ युनिट टियागो नेपाल ल्याएको देखिन्छ ।
यस्तो छ टियागो ईभी
अहिले टियागो ईभीको फेसलिफ्ट मोडल बजारमा आइसकेको छ । भारतमा जनवरी २०२५ मा यसको फेसलिफ्ट बिक्री सुरू भएको थियो । फेब्रुअरीमा नेपाल पनि फेसलिफ्ट मोडल आयो ।
नयाँ टियागो ईभीमा फ्रन्ट ग्रिल र एलइडी हेडल्याम्प सेटअप नयाँ पाउन सकिन्छ । त्यसको अलावा नयाँ डिजाइनको १४ इन्चको ह्वील र साइड ढोकामा ईभीको ब्याजिङ छ । कम्पनीले सन् २०२५ मोडलमा पहिलेको ३ सहित थप सुपरनोवा कपर, चिली लाइम तथा एरिजोना ब्लू कलर भेरियन्ट पनि थप गरेर ल्याएको हो ।
यसको इन्टेरियरमा पनि डुअल टोन कलर थिम भएको छ । सेन्टर कन्सोलमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट थपिएको छ । नयाँ टियागो ईभीमा टाटा पन्चमा जस्तै इलुमिनेटेड लोगो सहितको टु स्पोक स्टेरिङ ह्वील पाउन सकिन्छ ।
टियागो ईभीमा केही फिचर समेत थप भएको छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अपडेटेड डिस्प्ले सहितको हाइ डेफिनेसन रियर पार्किङ क्यामरा र सार्क फिन एन्टेना उपलब्ध छ ।
यसमा रोटरी डायल, आइटीपीएमएस, फलोमी होम हेडल्याम्प, कुल्ड ग्लोबबक्स, अटोमेटिक वाइपर, पुस बटम स्टार्ट/स्टप, क्रूज कन्ट्रोललाई निरन्तरता दिइएको छ । टाटाले टियागो ईभीको मोटर र ब्याट्री पावरमा भने कुनै परिवर्तन गरेको छैन । यसमा २४ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको मोटर उपलब्ध छ ।
कम्पनीले यसको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन । कम्पनीले एक्सटी भेरियन्टको २७ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको २८ लाख ९९ हजार रुपैयाँ र एक्सजेडप्लस लग्जरी भेरियन्टको २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।