टियागो ईभीको एक लाख मूल्य बढ्दा कति बढ्यो मासिक किस्ता ?

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टियागो ईभीको मूल्य बढाएको छ । कम्पनीले नेपालमा बिक्री सुरु भएको ७ महिनापछि टियागो ईभीको मूल्य बढाएको हो ।

नाडा अटो शो २०२३ मा नेपाल आएको टियागो ईभी २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार इन्टोडक्टरी प्राइस तोकेर बिक्री सुरु भएकोमा अब सबै भेरियन्टमा १ लाख रुपैयाँ मूल्य बढेको हो ।

‘विगत ७ महिनामा १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र सुरुवाती मूल्य अफर सकिएसँगै सबै भेरियन्टमा मूल्य बढाइएको हो’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिकदेखि टियागो ईभीमा बढेको मूल्य लागू भएको छ । २४ किलोवाट आवरसम्मको ब्याट्री प्याक र ५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको टियागो एक पारिवारीक ह्याचव्याक कार हो ।

मासिक किस्तामा कस्तो पर्ला असर ?

अहिले बैंक तथा वित्तिय संस्थाले १० प्रतिशतभन्दा कम ब्याजदरमा मै गाडी कर्जा उपलब्ध गराउन थालेका छन् । यस्तोमा कम्पनीले बढाएको मूल्यको असर कति पर्ला भन्ने चासो हुनु स्वाभाविक हो ।

यदि २७ लाख ९९ हजार मूल्यको टप भेरियन्ट तपाईले किन्न भ्याएको भए अहिलेको १० प्रतिशत ब्याजदरमा कर्जा लिएर किन्दा ५ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ ।

त्यस्तै कर्जा रकम २२ लाख ३९ हजार २०० हुन्थ्यो । अहिलेको औषत १० प्रतिशत व्याजदरको हिसावले ८४ मासिकसम्म मासिक ३७ हजार २०० किस्ता तिर्नु पथ्र्यो ।

तर, बढेको मूल्य अनुसार ५ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र २३ लाख १९ हजार २०० कर्जा वापत तिर्नु पर्ने हुन्छ । बढेको मूल्यमा किन्दा मासिक किस्ता ३८ हजार ५०० रुपैयाँ पर्छ ।

नयाँ बढेको मूल्य अनुसार २० हजार रुपैयाँ डाउन पेमेन्ट र १ हजार ३०० मासिक किस्ता बढ्ने देखिन्छ ।


Back_to_top