काठमाडौं । रेनोको सफल गाडी ट्राइबरमा केहि फिचर थप भएर आएको छ । सन् २०१९ अगस्तमा भारतमा सार्वजनिक भएको रेनो ट्राइबर २०२० फेब्रुअरीमा नेपाल आएको थियो ।
रेनो इन्डियाले भारतमा उत्पादन गरेको ट्राइबर निकै सफल मोडलको रुपमा स्थापित भएको छ । यसको विक्री नेपालमा पनि निकै राम्रो रहेको छ । कम्पनीले ट्राइबरमा केहि फिचर थप गरेर बजारमा उतारेको हो ।
कम्पनीले यसमा स्टेरिङ ह्वील माउन्ट अडियो र फोन कन्ट्रोल सुविधा थप गरेको छ भने ड्राइभर सिटको हाइट आफ्नो आवस्यकता अनुसार मिलाउन सकिने बनाएको छ ।
साथै, अपग्रेड गरिएको टाइबरमा ड्यूल टोन इन्टेरियरको प्रयोग गरेको छ । लुकिङ ग्लासमा एलइडी टर्न इन्डिकेटर दिइएको छ ।
आफ्नो आवश्यकता अनुसार ५ र सात सिट क्षमतामा प्रयोग गर्न सकिने ट्राइबर मूल्यको कारण पनि चर्चामा रहेको मोडल हो । ४ मिटरभन्दा केहि मिलिमिटर छोटो ट्राइबर समग्रमा ‘भ्यालु फर मनी’ प्रोडक्टको रुपमा परिचित रहेको छ ।
आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । रेनोले यसमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ ।
१८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ । रेनो–निसान–मित्सुविसीको सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीडमा आधारित ट्राइबरको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । ग्राहकले यसमा ६२५ लिटरको विशाल बुटस्पेश पाउने छन् । यसको सुरुवाती मूल्य २८ लाख ७० हजार निर्धारण गरेर नेपालमा विक्री हुँदै आएको छ । नयाँ फिचर थप भएको ट्राइबर भने केहि समयपछि नेपालमा आउने छ ।


