उपत्यका भित्र टिपर संचालनमा थप कडाई, सार्वजनिक बसमा यी कुरा हुनै पर्ने (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यका भित्रको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षालाई मध्यनजर गर्दै टिपरहरुको उपत्यका प्रवेशमा थप कडाई गरेको छ ।  विभागले टिपरहरु काभ्रेको धुलिखेल र नागढुङ्गाबाट राति ८ बजेपछि मात्रै उपत्यका भित्र प्रवेश गर्न पाउने व्यवस्था थरेको हो । 

विभागले आज एक सूचना जारी गर्दै राति ८ बजेपछि उपत्यका प्रबेशगर्ने टिपरले पानी चुहाएर बालुवा ढुवानी गरेमा तथा अनाधिकृत पार्किङ गरेको पाइएमा हदैसम्मको कारबाही गर्ने समेत जनाएको छ । 

लोड गरिएका टिपरलगायतका मालबाहक सवारी साधनहरु अन्य सवारी आगमनमा बाधा पुग्नेगरि सडकमार्गमा पार्किङ गर्न नपाउने समेत सूचनामा उल्लेख गरिएको छ ।

साथै, विभागले यात्रुबहाक सार्वजनिक यातायातमा फोहोरको व्यवस्थापनको लागि नयाँ नियम लागु गरेको छ । यस्ता सार्वजनिक यातायातमा यात्रुहरुले फाल्ने फोहोरको व्यवस्थापनको लागि सवारीसाधन भित्र डस्टविन अनिवार्यरुपमा राख्नै पर्ने व्यवस्था गरेको छ । 

सवारीसाधनको नियमित सरसफाई गर्नूपर्ने, यात्रु बस्ने सिटको मर्मत संभारको साथै सफाइ गर्नैपर्ने समेत सूचनामा उल्लेख गरिएको छ । साथै, विभागले जारी गरेको नियम विपरित सवारी संचालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ । 


Back_to_top